
तुलसीपुर, १२ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले क्यानको डीजी भ्रष्ट हुँदा टरिगाउँ एयरपोर्टमा बजेट नपरेको आरोप लगाएका छन् ।
राप्ती बबई क्याम्पसको ३५ औं स्थापना दिवस तथा २० औं साधारणसभालाई सम्बोधन गर्दै उनले नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक(डीजी) प्रदिप अधिकारीकै कारणले एयरपोर्टमा बजेट नपरेको आरोप लगाए ।
“एयरपोर्टको १७ विघा जग्गा किन्नु छ, साथीहरुले बुझ्नु हुन्न । क्यानको जो डीजी छ, जो क्रप्ट छ । त्यसरी मैले भन्न चहान्न थे ।”,उनले भने“यसैको बाइसनेस छ,मैले कुन प्रधानमन्त्रीलाई प्रश्न गरिन, प्रचण्ड जीलाई, केपी जीलाइ जवाफ आयो बन्दैछ, बन्दै छ, झुक्कायो भने त केही लाग्दैन ।”
त्यस्तै उनले चारलेन मर्मत सुरु गर्न पनि आफूले निकै संघर्ष गरेको बताए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कोमल वलीले एमालेको प्रधानमन्त्री, अर्थमन्त्री र काँग्रेसको पर्यटन मन्त्री हुँदा पनि बजेट आउन नसकेको बताईन् । उनले पहल भइरहेकाले एक दिन अबश्य आउने उनको भनाई थियो ।
२०४७ साल मंसिर १२ गते सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको क्याम्पसमा हाल सल्यान, रोल्पा, रुकुम, प्युठान, जाजरकोटलगायतका विद्यार्थीहरुले उच्च शिक्षा हाँसिल गर्दै आएका छन् ।
क्याम्पसले हालसम्म हासिल गरेका शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापन पक्षका उपलब्धिहरू क्याम्पस प्रमुख गणेश पार्धेले प्रस्तुत गरेका थिए । उनका अनुसार क्याम्पसले क्यूएए प्राप्त समेत प्राप्त गरेको छ। क्याम्पसमा हाल व्यवस्थापन, मानविकी, शिक्षा संकायअन्तर्गत विभिन्न विषयको अध्यापन भइरहेको छ ।
सो अवसरमा क्याम्पसको आर्थिक प्रतिबेदन कोषाध्यक्ष बिनिल केसीले प्रस्तुत गरेका थिए । उनका अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा ८ करोड ४७ लाख ८ हजार ३ सय ७८ रुपैयाँ आम्दानी भएको बताए । जसमा ६ करोड ८२ लाख ५८ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको छ ।
हाल क्याम्पसको १ करोड ६४ लाख ५८ हजार ६ सय ५८ रुपैयाँ बचत रहेको छ । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य अनारकली मियाँ, पुर्व सांसद शंकर गिरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, पुर्व नगर प्रमुख ढुण्डीराज लामीछाने, घनश्याम पाण्डे, दंगीशरण गउँपालिका अध्यक्ष शम्भु गिरी, एमाले तुलसीपुर नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सूर्य प्रकाश शर्माले गरेका थिए ।



लाइभदाङ । १३ मंसिर २०८२, शुक्रबार २०:३४ बजे