दाङबाट विप्लव छोडेर युवाहरु नेकपामा प्रवेश

काठमाडौं, ९ मंसिर ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादीका महासचिव विप्लवलाई छाडेर आएका दाङका युवाहरूलाई पार्टीमा भित्र्याएका छन्।

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा माओवादी छाडेर आएका दाङका युवाहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

नेकपा भित्रिनेहरूमा नेकपा माओवादीका दाङ जिल्ला सचिवालय सदस्य सुदर्शन सुनार, जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली, गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य विवेककुमार बिक, जिल्ला सदस्यहरू दिलीप वली, ठाकुरप्रसाद गौतम, हेमराज बिक र कुमार चपाइ रहेका छन्।


उक्त समूहलाई पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे।

यस्तै, आजै मुस्लिम समुदायसँग नेकपाको कार्यक्रममा मुस्लिम समुदायका धार्मिक गुरुहरू (मौलाना) लगायत ५० जना मुस्लिम नेताहरूलाई प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरूले स्वागत गरे।