नेकपा दाङ क्षेत्र नं. ३ को प्रशिक्षण

तुलसीपुर, ७ मंसिर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं.३ को अन्तरक्रिया तथा प्रशिक्षण भएको छ । शनिबार दंगीशरणमा प्रशिक्षण भएको हो । क्षेत्र नं.३ का इन्चार्ज भिमबहादुर वली(ड्राइभर)को अध्यक्षता तथा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक कमिटि सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि मास्कीले केही राजनीतिक दलको गतिबिधिले जेनजीको अर्को आन्दोलनको खतरा रहेको बताएका छन् । राजनीतिक दलहरुले नयाँ पुस्ताको भावनालाई कदर नगरी अराजक ढंगले लागिरहेको भन्दै त्यसले अर्को खतरा निम्त्याउन सक्ने बताए ।

साथै उनले नेपालमा प्रत्येक मिनेटमा विदेशीको चलखेल हुने गरेको समेत बताए । पछिल्लो कम्युनिष्ट पार्टीहरु एक हुने गरि १२ वटा दलहरुबीच एकता भएकाले यसले मुलुकलाई निकास दिने बताए । यसले मुलुकमा नयाँ सन्देश दिएको समेत उनको भनाई थियो ।


त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लेखा आयोगका सदस्य रामबहादुर दहित, अखिल नेपाल महिला संघ क्रान्तिकारीका लुम्बिनी प्रदेश अध्यक्ष पुनम सिर्पाइली, शिक्षक संगठनका नेता निमबहादुर केसी, दिलबहादुर पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

क्षेत्रीय सहइन्चार्ज प्रेमराज वली प्रभातले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रदेश संयोजक मोहनलाल वलीले गरेका थिए ।