दाङबाट शैक्षिक भ्रमणमा गएको विद्यार्थी बोकेको बस पाल्पामा दुर्घटना

दाङ, ५ मंसिर ।
दाङबाट शैक्षिक भ्रमणमा गएको विद्यार्थी बोकेको बस पाल्पामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

साधारण नमुना मावि राजपुरका विद्यार्थी बोकेको ना ५ ख १०८९ नम्बरको बस तानसेन रानी महल सडकको तानसेन नगरपालिका– १३ बैकुन्ठे भिर नजिकै दुर्घटना भएको हो ।

बस अचानक आफै अनियन्त्रित भई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारको लागि तानसेनस्थित युनायटेड मिसन अस्पताल पठाइएको छ ।


घाइते हुनेहरूमा दाङको राजपुर गाउँपालिका –४ का ४० वर्षीय शत्रु घन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, चालक घोराही उपमहानगरपालिका–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका –५ की १२ वर्षिया सन्ध्या भण्डारी, सोही गाउँपालिका– ६ की १८ वर्षीय दिल कुमारी रावत, सोही ठाउँकी १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली रहेका छन् ।

यस्तै दुर्घटना राजपुर गाउँपालिका –५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयुष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही उपमहानगरपालिका –९ का ३५ वर्षीय वसन्त योगी पनि घाइते भएका प्रहरी नायव उपरीक्षक चौधरीले बताउनुभयो ।