चितवनमा जनार्दनको अभियान

चितवन, ३० कात्तिक ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका बाम दल बीचको एकता प्रक्रियामा सामेल नभएका तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले चितवनमा पनि सक्रियता बढाएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका बाम दल बीच भएको एकता प्रक्रियामा सामेल नभएका तत्कालीन माओवादी केन्द्रका उपमहासचिव शर्माका समर्थकले चितवनमा पनि सक्रियता बढाएका हुन् ।

चितवन तत्कालीन माओवादी केन्द्र र एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको गृहजिल्ला पनि हो ।

शर्माले गठन गरेको प्रगतिशील राष्ट्रिय अभियान नेपालको आइतबार चितवनमा जिल्ला समिति घोषणा भएको छ । अभियानको चितवन संयोजकमा दिपक शाही रहेका छन् ।


शाही तत्कालीन माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय सदस्य हुन् । त्यसैगरी प्रदेश सदस्य ऋषि चापागाई, भरतपुर महानगर उपाध्यक्ष पवित्रा रिजाल पनि शर्माको अभियानमा सामेल भएका छन् ।

अभियानको केन्द्रीय प्रतिनिधि बनेर सुदर्शन पौडेल आएका छन् । उनी सशस्त्र द्वन्द्वको समयमा माओवादीले गठन गरेको चितवनको पहिलो ‘जनसरकार’ प्रमुख हुन् । उनी माओवादीका केन्द्रीय सदस्य र स्थानीय तहको निर्वाचनमा भरतफुर महानगरमा सक्रियताका साथ लागेका व्यत्ति हुन् । ‘आजदेखि चितवनमा हाम्रो सक्रियता र अभियान औपचारिक रूपमा आरम्भ भएको घोषणा गर्दछौं,’ पौडेलले भने ।

अभियानका चितवन संयोजक शाहीले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापना गर्न, एक व्यक्तिमा आधारित निरंकुश केन्द्रीयतामा चल्ने नभइ युगबोध अनुरूपको राजनैतिक दल निर्माण गर्न आफुहरू जुटेको बताए । उनले नेतातन्त्रको अवसान गर्दै नयाँ प्रकारको पार्टी र शासनपद्धति विकास गर्ने दाबी गरे ।