नेकपाको केन्द्रीय कमिटिमा परेनन् दाङका ५ पूर्व माओवादी केन्द्रीय सदस्यहरु

तुुलसीपुर, २८ कात्तिक । पूर्व माओवादी केन्द्रमा दाङबाट ९ जना केन्द्रीय सदस्य हुन् । तर, अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा भने दुई जना मात्रै केन्द्रीय कमिटिमा परेका छन् । निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कमिटिको सूचिमा दाङबाट रेखा शर्मा र दामा शर्मा मात्रै केन्द्रीय कमिटिमा परेका हुन् ।

त्यो बाहेक पूर्व माओवादीको केन्द्रीय कमिटि सदस्यमा जगप्रसाद शर्मा(अपार), निर्मल आचार्य(बिमल), हेमराज शर्मा(डायमन्ड), धनबहादुर मास्की(राजेश),इन्द्रजित थारु(ब्राइन),नारायणी शर्मा (प्रतिक्षा) र भिमकुमारी बाँठा केन्द्रीय सदस्य थिए ।

ति मध्ये अपार र प्रतिक्षा एकतामा सहभागि भएका छैनन् । उनीहरुले जनार्दन शर्मालाई साथ दिएका छन् ।

अन्य पाँच जना केन्द्रीय सदस्य हालको नेकपामा परेका छैनन् । बिमल पार्टीको जिल्ला इन्चार्ज समेत थिए । पूर्व एकीकृत समाजवादीबाट भने दाङबाट मेटमणी चौधरी केन्द्रीय सदस्य बनेका छन् ।


रोल्पाबाट भने ९ जना केन्द्रीय सदस्य परेका छन् । कृष्णबहादुर महरा, बर्षमान पुन, नन्दकिशोर पुन, ओनसरी घर्ती,कुलप्रसाद केसी,जयपुरी घर्ती,जोखबहादुर महरा,पबित्रा घर्ती र ताराकुमारी घर्ती रोल्पाबा केन्द्रीय सदस्य बनेका हुन् ।

जनार्दनको जिल्ला रुकुम पश्चिमबाट कोही पनि केन्द्रीय सदस्य भएका छैनन्, भने रुकुम पूर्वबाट कमला रोका र गणेशमान पुन केन्द्रीय सदस्यमा परेका छन् । त्यस्तै सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला केन्द्रीय सदस्य बनेका छन्, भने प्यूठानबाट कोही पनि केन्द्रीय सदस्य छैनन् । यो समावेशीताका आधारमा निर्वाचन आयोगमा पठाएको केन्द्रीय कमिटी रहेको पूर्व माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बताए ।

उनका अनुसार पूर्ववत सबै पार्टीका केन्द्रीय सदस्यहरु महाधिवेशन आयोजक कमिटिमा रहेको बताए । हालका केन्द्रीय सदस्य दामा शर्माले पनि केन्द्रीय कमिटिको आकार पनि सानो भएकाले निर्वाचन आयोगमा पठाउनकालागि समावेशिताका आधारमा केन्द्रीय कमिटि ययार पारिएको बताईन् ।

हाल एकसय ३८ सदस्यीय केन्द्रीय कमिटि बनाईएको छ ।