बाढी पीडितका लागि तुलसीपुर खानेपानी संस्थाद्वारा २ लाख ५१ हजार सहयोग

तुलसीपुर,१२ असोज ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले भोटेकोसी बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले २ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो ।सिन्धुपाल्चोकको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि संस्थाले उक्त रकम प्रदान गरेको हो । विपद्को यो घडीमा देशका नागरिकहरूलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको संस्थाका पदाधिकारीहरूले बताएका छन् ।

प्राकृतिक विपत्तिले निम्त्याएको यो संकटको घडीमा भोटेकोसीका पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर संस्थाको तर्फबाट यो सहयोग गरिएको संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताउनुभयो । खानेपानी संस्था केवल सेवा प्रवाहमा मात्र सीमित नरहेर देशलाई संकट पर्दा सामाजिक उत्तरदायित्व वहन गर्न पनि सधैं अग्रपंक्तिमा रहने उल्लेख गर्दै अध्यक्ष भण्डारीले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


बाढीपहिरोका कारण ठूलो धनजनको क्षति ब्यहोर्नुभएका भोटेकोसी क्षेत्रका नागरिकहरूलाई तत्कालीन राहत पुगोस् भनी कार्यसमितिको निर्णय बमोजिम २ लाख ७१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाले जानकारी दिनुभयो । संस्थाको आर्थिक पारदर्शिता र सामाजिक जवाफदेहितालाई मध्यनजर गर्दै उपभोक्ताहरूको तर्फबाट यो ऐक्यबद्धता प्रकट गरिएको बताउँदै कोषाध्यक्ष थापाले संकटमा परेका नागरिकलाई सुरक्षित रूपमा पुनस्थापित गर्न राज्यको कोषलाई बलियो बनाउनु सबैको कर्तव्य भएको औंल्याउनुभयो ।

तुलसीपुर खानेपानी संस्थाले यसअघि पनि विभिन्न स्थानीय तथा राष्ट्रिय विपद्का समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । संस्थाले गरेको यो योगदानले बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत तथा पुनर्स्थापना अभियानमा थप मद्दत पुग्ने विश्वास लिइएको छ ।