
तुलसीपुर, २६ कात्तिक ।
घोराही–तुलसीपुर चारलेन सडक निर्माणकालागि सर्वेको काम पूरा भएको छ । गएको २४ असारमा श्री दिवा–बन्दन भगवति जेभीसंग सम्झौता भएर साही कम्पनीले सम्पूर्ण कागजी कामहरू सकेको कार्यालय प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताए । उनका अनुसार संयुक्त सर्वेक्षण,सूचि सर्वेक्षणलगायतका सर्वेक्षण सकिएको छ । कागजी काम सकिएसंगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले बताए ।
भ्याट बाहेक २ अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हुन् । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवा सम्म चारलेन हुने छ । जुन २१ किलोमिटर ५८ मिटर रहेको छ । कालोपत्रेको चौडाइ चार लेनको हुनेछ भने बीचमा–बीचमा मेडिएन र दुबैतर्फ २/२ लेनको सडक हुनेछ । सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको प्रमुख विष्टले बताए । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणकालागि प्रक्रिया अघि बढिसकेको छ ।
सोही सडक चारलेन बनाउनका लागि यस अघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार ३ करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २७ कार्तिक २०८२, बुधबार १४:०० बजे