अबदेखि अनलाइन मिडिया दर्ता र नवीकरण गर्दा शुल्क तिर्नु पर्ने

काठमाडौँ, १४ कात्तिक ।
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि शुल्क तिर्नु पर्ने भएको छ । सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावली संशोधन गरी अनलाइन मिडियाको दर्ता र नवीकरण शुल्कसमेत तोकेको हो ।

नयाँ व्यवस्था अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्नेछ । दर्ता भएपछि प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र प्रत्येक पटक नवीकरण गर्दा २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।


यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता हुँदै आएका पत्रपत्रिका तथा अनलाइनहरू अब सूचना तथा प्रसारण विभागमार्फत दर्ता र नियमनमा आउने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावली संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यसलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले गरेको यो परिवर्तनले अनलाइन मिडियाको दर्ता प्रणालीलाई एकीकृत, व्यवस्थित र जवाफदेही बनाउने उद्देश्य लिएको बताइएको छ ।