
तुलसीपुर, १३ कात्तिक ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ईकाइगत प्रणाली पार्षदहरूको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधबार संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा ७३ जना निर्वाचित र ७ जना मनोनित गरी ८० जना पार्षदहरूलाई शपथ खुवाइएको हो । वरिष्ठ अधिवक्ता तथा निर्वाचन समिति संयोजक विष्णुमणि धितालले एक औपचारिक कार्यक्रमकाबीच शपथ खुवाउनुभएको हो ।
निर्वाचन समिति संयोजक धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष यमकान्त भण्डारीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले खानेपानी संस्थाको विकासका लागि आफू गम्भीर रहेको बताउनुभयो । आफ्नै पहलमा बबई लिफ्टिङ आयोजनाको काम अघि बढेको बताउँदै समयमै निर्माण सम्पन्न गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘पुराना अध्यक्षले थाती राखेको योजना मेरै पहलमा अघि बढेको हो ।’
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि भण्डारीले आफ्नो स्वभाव कडा तर काममा कुनै कन्जुसाईं नगर्ने बताउनुभयो । उहाँले सबै उपभोक्ता समान रहेको बताउँदै प्राथमिकताको हिसाबले काम गरिरहेको धारणा राख्नुभयो ।
संस्थाका सल्लाहकार जनक खरालले खानेपानीलाई नियमित राख्न पार्षदहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कुनैपनि बहानामा उपभोक्तालाई पर्याप्त पानी बाट वञ्चित नगर्न नहुने धारणा राख्नुभयो ।
संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता मधुसुदन धितालले संस्थाको विधान संशोधन गर्न विगतदेखि नै आफूले सुझाव दिइरहेको बताउँदै संस्थाको हालको संरचना अनुसार विधान संशोधन गरेर मात्र अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्माले काम गर्ने क्रममा कमीकमजोरी वा त्रुटि भए तत्काल सुझाव दिन अनुरोध गर्दै सबैको साथ र सहयोगले मात्र संस्थाको विकास हुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव भुवन भुसालले सबै उपभोक्ताको सल्लाह सुझाव अनुसार अघि बढ्ने प्रतिक्रिया दिनुभयो ।
संस्थाका नव निर्वाचित पार्षद पदम पोख्रेलले सबै उपभोक्तालाई समान तरिकाले पानी वितरण गर्न सुझाव दिनुभयो । उहाँले तुलसीपुरको रानी जरुवादेखि अटो भिलेजसम्म खानेपानीको समस्या रहेको बताउँदै खानेपानी व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
संस्थाकी नवनिर्वाचित महिला पार्षद् पवित्रा धितालले समानुपातिक ढङ्गले पार्षद विस्तार गरेसँगै खानेपानी व्यवस्थापनमा पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै संस्थाका अर्का नव निर्वाचित पार्षद मदन धितालले उपभोक्ताको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै समान ढंगले काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समिति सदस्य गोपाल बहादुर बुढाथोकीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य तथा संस्थाका प्रशासन सहायक सुशील श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो । संस्थाको विकासका लागि पार्षदहरूको महत्त्वपूर्ण भूमिका रहने कार्यक्रमका सहभागीहरूले विश्वास व्यक्त गरेका थिए । संस्थामा हाल करिब ११ हजार ५ सय उपभोक्ता रहेका छन् ।



लाइभदाङ । १४ कार्तिक २०८२, बिहीबार १०:३३ बजे