
दीपक बोहरा
तुलसीपुर, ०१ कार्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमिति र कर्मचारीहरु अहिले सयपत्री खेतिमा ब्यस्त देखिन्छन् । १२ सय सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक विघा जग्गा भाडामा लिएर सयपत्री खेति गरेपछि त्यही खेतिको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरि यसरी सयपत्री खेति गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताउनुभयो ।“अहिले सबै कार्यसमिति र कर्मचारीहरु यही हजारी खेतिको स्याहारमा लागेका छौं”,उहाँले भन्नुभयो“ अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौं ।”
उहाँका अनुसार ‘कर्म’ जातको सयपत्री खेति गरिएको हो । सुरुमा करिब तीन लाख बढि खर्च भएको छ । विउ, मल्चिङ तथा खेत जोताइलगायत गरि उक्त बराबरको खर्च भएको हो ।
४५ दिनमै फुलेपछि चिन्तित
तिहारलाई लक्षित गरि साउन २६ गते उक्त सयपत्री रोपिएको थियो । तर, ४५ दिनमै फुलेपछि आफूहरु चिन्तित बनेको अध्यक्ष धितालले बताउनुभयो । दशै भन्दा अघि नै सयपत्री फुल्दा आफूहरुले सोचे अनुसार आम्दानी हुँदैन,की भन्ने चिन्तामा आफूहरु रहेको उहाँले बताउनुभयो ।“हामीले तिहारलाई लक्षित गरेका थियौं”,उहाँले भन्नुभयो“तर, दशैमा फुल्यो, यसले गर्दा हामीले सोचे अनुसार आम्दानी हुँदैन की भन्ने छ ।”
सयपत्रीमा नियमित सिंचाई गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोही अनुसार काम गरिरहेको उहाँले बताउनुभयो । १२ देखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाई छ ।
सामाजिक सञ्जालले काठमाडौंसम्म ब्यापार
दशै अगावै फुलेपनि सामाजिक सञ्जालबाट प्रचार गर्दा काठमाडौंसम्म पठाएको अध्यक्ष धितालको भनाई छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोजमै करिब २ क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ । विदेशबाट समेत माग आएको उहाँले बताउनुभयो ।
पाँच बर्षकालागि जग्गा भाडामा लिएर यसरी सयपत्री खेति गरिएको हो । कठ्ठाको बार्षिक दुई हजारका दरले यसरी जग्गा भाडामा लिइएको हो । कृषि सहकारी भएकाले सयपत्रीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यो खेति तर्फ लागिएको उहाँले बताउनुभयो ।



लाइभदाङ । २ कार्तिक २०८३, आईतवार १०:१२ बजे