दाङमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

दाङ, ३० असोज ।
दाङमा तिहारका बेला राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले शुभ–दीपावली (तिहार) र छठ पर्वलाई सुरक्षित, मर्यादित र अनुशासित ढङ्गले मनाउन बिहीबार सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइने उल्लेख गरिएको छ । प्रशासनले राति ढिलोसम्म हुने हो–हल्ला, मदिरा सेवन तथा सडकमै भीडभाड गर्ने गतिविधिले शान्ति सुरक्षा प्रभावित हुने भएकाले यस्तो निर्णय गरिएको जनाएको छ ।

साथै प्रशासनले आवश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी र मूल्यवृद्धि गर्ने तथा विस्फोटक पदार्थको उत्पादन बिक्री र प्रयोग नगर्न पनि आग्रह गरेको छ ।


सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल्ने वा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हो–हल्ला गर्ने कार्य नगर्न चेतावनी दिइएको छ ।

कुनै पनि अवाञ्छित गतिविधि वा विवाद देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा प्रहरीको ‘१००’ नम्बरमा सम्पर्क गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।