दाङमा ठुलो मात्रामा पटकाजन्य वस्तु बरामद

दाङ, २७ असोज ।
तिहार तथा छठमा पटकाजन्य वस्तुको बिक्रि वितरणमा दाङ प्रहरीले कडाई गरेको छ । पटकाजन्य वस्तुले समाजलाई त्रसित बनाउने र दुर्घटना निम्तिन सक्ने भएकाले नियन्त्रणका लागि प्रहरीले ठाउँ–ठाउँमा जाँच गरिरहेको छ । प्रहरीले विषेशगरी सिमा नाकामा जाँच गरेर ठुलो मात्रामा पटका बरामद गरेको छ भने दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार आइतबारमात्रै दाङका विभिन्न स्थानबाट ठुलो मात्रामा विष्फोटक पदार्थ पटका बरामद गरिएको छ । प्रहरीले राजपुर र अमिलियाबाट ठुलोमात्रामा पटकजन्यवस्तु बरामद गरेको हो ।

प्रहरीका अनुसार राजपुर गाउँपालिका–४ दुलैया चोकमा ६० हजार बराबरको पटकासहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले विष्फोटक पदार्थसहित राजपुर–७ फोहारका ४० वर्षिय दिनेश गुप्ता र भारतको बलरामपुर बरहवाका २८ वर्षिय लक्ष्मण भारलाई पक्राउ गरेको छ ।


यस्तै प्रहरीले नेपालगञ्जबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको २ हजार ५ सय ७८ पिस पटक लमही नगरपालिका–९ अमिलियाबाट बरामद गरेको छ ।

प्रहरीले नेपालगन्जबाट तुलसीपुर आउँदै गरेको रा १ ज ३१३२ नम्बरको फोर्स गाडीमा लुकाएर ल्याउँदै गरेको २०१७ पिस पटका र नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको लु.प्र.०१–००१ प ६४८२ नम्बरको मोटरसाइकलमा ५६१ पिस पटका बरामद गरेको डिएसपी शाहले बताउनुभयो ।

पटकाजन्य वस्तुको खुलेआम बिक्रिवितरणलाई रोक्न सिमानाकामा सवारी जाँचलाई कडाई गरिएको प्रहरीले जनाएको छ ।