
दाङ, २४ असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्रिवि शिक्षण अस्पताल र किर्तिपुर जलन अस्पतालसंग सहकार्य हुने भएको छ । यसअघि मुटु उपचारका लागि सहिद गङ्गालाल मुटु रोग अस्पतालसंग सहकार्य गर्ने सहमति गरेर प्रतिष्ठानका नर्सिङ र एक जना रेडिलोजि बिभागमा कार्यरत जनशक्तिलाई सिकाई आदानप्रदानसहित तालिमका लागि पठाइ सकेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट रजिस्ट्रार प्रा। श्याम लम्साल, निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले त्रि.वि. शिक्षाण अस्पातल र किर्तिपुर जलन अस्पतालसँग सहकार्य गर्ने गरि सहमति गरेका हुन । लम्साल र पन्थिले सहकार्य गर्ने सहमति अनुसार अब प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्श, पारामेडिक्स, कर्मचारी, विद्यार्थीहरुलाई तालिम लिन पठाउने बाटो खुल्नुका साथै दुबै पक्षले जनशक्ति आदानप्रदान गर्न सकिनेछ ।
काठमाडौंमा रहेका दुबै जनाले त्रि.वि.का डीन प्रा. डा. मोहनराज शर्मा र जलन अस्पतालका सिनियर कन्सल्टेन्ट प्रा.डा. शंकरमान् राइसँग सहमति गर्दै बिद्यार्थी तालिम, एम.डी.र एम.एस्. चिकित्सकलाई तालिम दिन मिल्ने गरि सहकार्यका क्षेत्रहरू पनि उल्लेख गरिएको छ ।
त्यस्तै राप्ती प्रतिष्ठानमा हुने सेवामा प्राविधिक सहयोग, स्वास्थ्य अनुसन्धान, चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक तालिम पनि सहकार्यको क्षेत्रमा राखेर सहमति गरिएको रजिस्ट्रार प्रा. लम्सालले बताए । उनले आगामी आर्थिक बर्षबाट प्रतिष्ठानमा जलन उपचारको पनि सुरुवात गर्ने गरि तयारी हुने बताए ।
प्रतिष्ठानमा पढिरहेका चिकित्सक, नर्शलाई जलन उपचारको तालिम लिन किर्तिपुर जलन अस्पतालमा पठाइने उनले जानकारी दिए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा.पन्थिले दुबै स्वास्थ्य संस्था बिच भएको सहमतिले दक्ष जनशक्ति उत्पादनमा ठुलो सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे ।




लाइभदाङ । २४ आश्विन २०८२, शुक्रबार ०७:२२ बजे