स्वरोजगार बनाएको ‘इट्टा उद्योग’

तुलसीपुर, ३१ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बिजौरी निवासी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौ–धौ थियो । घरमा गरिएको खेतिले ६ महिना भन्दा पुग्दैनथ्यो । तर, अहिले स्थानीय इट्टा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउने सहज भएको छ । सोही वडाको जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योगमा तीन वर्षदेखि काम गर्न थालेपछि उनले दैनिक सातसय देखि एक हजारसम्म आम्दानी गर्दै आएका छन् ।“पहिले घरमा खाना समेत पुग्ने अवस्था थिएन”,उनले भने “तर, अहिले इट्टा उद्योगमा काम गर्न थालेपछि सहज भएको छ ।” उनी सोही उद्योगमा इट्टा बोक्ने काम गर्दछन् । २८ वटा इट्टा बोकेपछि रु. ६ पाईन्छ । यसरी दिनभरि बोक्दा सोही कमाई हुने गरेको उनले बताए । इट्टा बोकेर उनले दुई छोरा, दुई छोरीलाई पालन पोषण तथा पढाई लेखाई गराएका छन् ।

त्यस्तै रोल्पा रुन्टीगढी गाउँपालिका ८ निवासी नरबहादुर परियारलाई पनि सोही इट्टा उद्योगले स्वरोजगार बनाएको छ । उनले त्यही उद्योगमा इट्टा बोक्ने काम गर्न थालेको पाँच वर्ष भयो ।  उनले एक सिजनमा साढे दुई लाखसम्म कमाउने गरेको बताए । विगतका वर्ष असोजदेखि असारसम्म इट्टा सञ्चालन हुने गथ्र्यो । तर, अहिले वर्षादमा पनि इट्टा सञ्चालन भएकाले अलि बढि आम्दानी गर्न सकिने उनको भनाई छ । “विगतमा एक सिजनमा मैले ढाईलाखसम्म कमाउँथेँ”, उनले भने “अहिले वर्षादमा पनि उद्योग चलेको छ, अलि बढि होला ।” उनले दैनिक एक हजारदेखि एक हजार ८ सयसम्म आम्दानी गर्दै आएका छन् ।

त्यस्तै कैलालीका रामदयाल चौधरीले पनि काँचो इट्टा बनाउने काम गरिरहेका छन् । उनीसंगै श्रीमतिलाई पनि सोही काममा लगाएका छन् । श्रीमान र श्रीमति दुबै जनाले गरेर दैनिक एक हजार पाँच सय देखि दुई हजारसम्म आम्दानी गर्न हुन्छ । एउटा इट्टा बनाएर एक रुपैयाँ ३० पैसाका दरले पाउने गरेको उनले बताए ।


उनीहरू मात्रै होइन सोही तुलसीपुर १८ विजौरीको जय श्री हनुमान इट्टा उद्योगमा एक सय ५० बढिले यसरी नै काम गरेर आम्दानी लिइरहेका छन् । जसमा अधिकांश दाङवासी नै रहेको उद्योगका सञ्चालक मोहन घर्तीले बताए । “हामीले स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने नै उद्देश्य राखेका छौं”, उनले भने “नेपालीले गर्न सक्ने कामहरू नेपालीले नै गरिरहनु भएको छ, तर, केही प्राविधिक कामहरुकालागि भने बाहिरबाटै ल्याउनु पर्ने अवस्था छ ।” उनका अनुसार इट्टा बोक्नेमा ४०, काँचो इट्टा बनाउनेमा ६० जना, प्रशासनिक काम गर्ने ४ जना, गाडी चालक, सहचालक २६ जना, रावेश म्यान ४ जनाले काम गरिरहेको उनले बताए । त्यो बाहेक ईट्टा पोल्ने काम भने भारतबाट ल्याईएको बताए । त्यो काम गर्नकालागि भारतबाट १६ जना कर्मचारी ल्याईएको उनको भनाई छ ।

यस वर्ष देखि वर्षामा पनि सञ्चालन
यो उद्योग यस वर्ष देखि वर्षाको समयमा पनि सञ्चालनमा आएको छ । विगतमा यो उद्योग वर्षामा बन्द हुन्थ्यो । हाल दाङका सबैजसो इट्टा उद्योग बन्द छन्। हाल उक्त उद्योगमा जिग–ज्याग प्रविधि जडान गरिएको छ । जुन प्रविधि जोड्ने जिल्लाको एउटा मात्रै उद्योग हो ।  जिग–ज्याग प्रविधि जडान भएपछि अन्य उद्योगले गर्ने प्रदूषण भन्दा निकै न्यून धुवा फाल्ने सञ्चालक घर्तीले बताए । प्रदूषणलाई ख्याल राख्नुकासाथै इट्टाको माग पूर्ति गर्नकालागि पनि यस्तो कार्य गरिएको उनले बताए । साभारः अग्रिम साप्ताहिक