तुलसीपुर उपमहानगरपालिकाले टेन्टबाट सेवा दिने तयारी

तुलसीपुर, ३० भदौ ।
जेनजीको आन्दोलनमा जलेर नष्ट भएको तुलसीपुर उपमहानगरपालिकाले कार्यालयकै प्राङगणबाट सेवा दिने तयारी गरेको छ । उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार प्राङगणमै पाल टाँगेर सेवा दिने गरि तयारी गरेको बताए । उपमहानगरपालिकाको कार्यालय पनि जलेर ध्वस्त छ । पालिकाका दुई वटै भवन जलेर नष्ट छन्, भने २० वटा भन्दा बढि सवारी जलेर नष्ट छन् । फिल्डमा गएका बाहेक सबै सवारी जलेर नष्ट भएको उनले बताए । नयाँ ट्रेड टावरको भवनका सिसा पनि पुरै फुटेका छन् । यसरी हेर्दा ६० करोड भन्दा बढिको क्षति भएको प्रमुख खड्काले बताए ।

टेन्टकालागि जिल्लाको विपद ब्यबस्थापन र १९ नम्बर बाहिनीसंग मागेको उनले बताए । त्यसरी टेन्ट प्राप्त भएमा अतिआबश्यक सेवाहरु तत्काल सुरु गर्ने तयारी रहेको नगर प्रमुख खड्काले बताए । क्यान्सर, मिर्गौलालगायतका विरामीलाई उपचारकालागि सिफारिश गर्नेलगायत तत्काल नगरी नहुँने कामलाई सुरुवात गर्ने उनको भनाई छ । भवनको प्राबिधिकहरुबाट परीक्षण गर्ने कार्य भइरहेकाले पनि अहिले नै बस्न मिल्ने वा नमिल्ने भन्ने कुरा निक्र्यौल नभएकाले अहिले बाहिरबाटै सेवा सुरु गर्ने उनले बताए । यदि प्राबिधिक मूल्यांकनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्न तर्फ लाग्ने उनको भनाई छ ।


पालिकाले निर्माण गरेको ट्रेड टावरको सीसा क्षति भएपनि त्यसलाई सामान्य मर्मत गर्न सकेमा मात्रै पनि काम गर्न सकिन्छ । त्यहाँ पनि अस्थायी रुपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाई छ । त्यसकालागि ठेकेदारले अझै पनि पालिकालाई भवन हस्तान्तरण नगरेको उनले बताए । सम्झौता भन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोही अनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दावी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाई छ ।