
प्रिया स्मृती गजमेर
लमही, २८ भदौ ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय रातो डाँडा लमहीमा सरसफाई थालिएको छ । साथै नेताहरुले जेनजीद्वारा तोडफोड र आगजनी भएको क्षेत्रीय पार्टी कार्यालयको शनिबार निरीक्षण गरेका छन ।
यहीँ भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय लमही रातो डाँडामा तोडफोड र आगजनी भएको थियो ।
दुई तल्ले रहेकोे सो पार्टी कार्यालयको झ्यालमा लगाइएको सिसाहरु सबै फुटेको तथा ढोकाका पल्ला, र्यालिङहरु समेत टुट्फुट हुनुका साथै क्षेत्रीय सभापति भेषराज पाण्डेको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबुल, दराज एवम् महत्त्वपूर्ण कागजपत्रहरु सबै जलेका थिए । आगलागी पछि वडा प्रहरी कार्यालय लमहीले घटनास्थल पार्टी कार्यालय पुगेर क्षति भएको सबै विवरण लिएको र मुचुल्का बनाएको क्षेत्रीय सहसचिव प्रकाश कुमार जिसीले जानकारी दिए ।
जेनजी आन्दोलनकारीहरुको आन्दोलनका क्रममा आगलागीबाट करिब १८ लाख बराबरको क्षति पुगेको लमही नगर सभापति सन्तोष बुढाथोकीले जानकारी दिए ।
पार्टी कार्यालयको अवस्था हेर्न र बुझ्नका लागि आज बिहान नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत, गिरिजादेवी न्यौपाने, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, लमही नगर विकासका पूर्व अध्यक्ष घनश्याम सुवेदी, नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, लमही खानेपानीका पूर्व अध्यक्ष जंग बहादुर चौधरीले स्थलगतले निरीक्षण गरेका हुन् ।





लाइभदाङ । २८ भाद्र २०८२, शनिबार १२:५३ बजे