
प्रिया स्मृती गजमेर
लमही, २१ भदौ ।
विश्व फिजियोथेरापी दिवस (सेप्टेम्बर ८) को अवसरमा लमही अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालका अनुसार शिविरमा करिब १ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए । तीमध्ये ८० जनाले फिजियोथेरापी सेवा प्राप्त गरेका छन् ।

शिविरमा ओसिसारा स्वास्थ्य परामर्श तथा एड्मन सिटी हस्पिटल बुटवलका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी, नसा तथा वाथ रोग विशेषज्ञ डा.राजकृष्ण श्रेष्ठ, नोभा केयर फिजियोथेरापी तथा रिह्याब सेन्टर लमहीका फिजियोथेरापिस्ट डा. रोशन कुमार विक, डा. कमला चौधरी, फिजियोथेरापी सहायक कल्पना विक र समाजसेवी दर्शन थापालगायतको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए ।
निरासिज फाउन्डेसन नेपालले आयोजना गरेको उक्त शिविर लमही नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । लमही नगरपालिकाका विभिन्न वडाबाट सेवाग्राहीको उल्लेख्य सहभागिता थियो । टन्टलापुरको घाममा छाता ओढेर पालो कुर्दै विशेषज्ञको सेवा पाउँदा स्थानीयहरू खुसी देखिन्थे ।




लाइभदाङ । २१ भाद्र २०८२, शनिबार १९:२३ बजे