गुणस्तरीय शिक्षा दिन सबैले ध्यान दिनुस् : नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, २१ भदौ ।
लमही नगरपालिका–८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित चार कोठे भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

उहाँले सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गर्दै आएको भन्दै सो लगानीको उचित उपयोग गर्दै विद्यार्थीको शैक्षिक उपलब्धि सुधार्न शिक्षकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकार सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयमा अपेक्षित सुधार ल्याउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले शिक्षा विकासलाई नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनु भयो । शुक्रबार आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यालयमा सिकाइ–सुधार र सुविधा विस्तारलाई निरन्तरता दिइने बताउनुभयो ।


उहाँले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मान बहादुर चौधरीले विद्यालयले हासिल गर्दै गएको उपलब्धिका बारेमा प्रशंसा गर्नु भएको थियो । आगामी दिनमा विद्यालयले अझै प्रगति गरोस भन्दै शुभकामना दिनु भएको थियो ।

लमही नगरपालिका–८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित भवन उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख लक्ष्मी योगी र वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का विशिष्ट अतिथि रहनुभएको थियो ।

नेपाल सरकारको संघीय अनुदान मार्फत प्राप्त भएको ५५ लाख र ३ लाख स्थानीय श्रमदान गरि ५८ लाखमा चार कोठे भवन निर्माण भएको हो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्ली भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक राजेश चौधरीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।