
काठमाडौँ, १६ भदौ ।
आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी अरबमा कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई मृत्युदण्ड दिइएको छ । दमाम जेल प्रशासनले तीनै तहको अदालतको फैसला कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७ः५९ बजे मृत्युदण्ड दिए पनि नेपाली दुतावासलाई भने ढिला गरि जानकारी दिइएको थियो । साउदीमा नेपालीलाई मृत्युदण्डको सजाय कार्यान्वयन भएको यो पहिलो घटना भने होइन ।
२०८० असोज २ गते रानाभाटले एउटै कोठामा बस्दै आएका महोत्तरीका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको हत्या गरेका थिए । दमामस्थित तल्लो अदालतले दिएको मृत्युदण्डको फैसला उच्च र सर्वोच्च अदालतले समेत सदर गरेका थिए । घटनाको विस्तृत कारणबारे सार्वजनिक विवरण नभए पनि आपसी विवादका कारण हत्या भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
साउदी कानुनअनुसार मृत्युदण्डको सजाय सुनाइसकेपछि पीडित पक्षले ‘ब्लडमनि’ लिएर माफी दिन सक्ने व्यवस्था छ । तर यस घटनामा पीडित र पीडकबीच कुनै सम्झौता नभएको दूतावासले जनाएको छ । मृत्युदण्डअघि साउदी सरकारले त्यहाँस्थित नेपाली दुतावासलाई पठाएको पत्रमा रानाभाटले पोखरामा रहेको आफ्नो सम्पत्ति श्रीमती र छोरालाई दिन अन्तिम इच्छा राखेको कुरा उल्लखे छ । साउदीका लागी नेपाली राजदुत नरेश विक्रम ढकालले मृत्युदण्डको सजाय कार्यन्वयन भइसकेपछि मात्रै दुतावासले यसबारे औपचारिक जानकारी पाएको बताए ।
साउदी कानुनअनुसार मृत्युदण्ड पाएकाको शव परिवारलाई दिइँदैन । यसअघि पनि २०७९ कार्तिक ६ गते उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिइएको थियो । दाहालले सन् २००७ मा मोरङका आफ्नै आफन्तको हत्या गरेका थिए । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिइ साउदीमै गाडिएको थियो ।



लाइभदाङ । १६ भाद्र २०८२, सोमबार २०:२५ बजे