
प्रिया स्मृती गजमेर
लमही, १५ भदौ ।
देउखुरीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–२ बरुवा गाउँ निवासी ७० वर्षीय भगवानदीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आज आइतबार बिहान करिब साढे सात बजे सिसहनियाँबाट सोनपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले सिसहनियाँको भित्री सडकमा पैदल यात्रा गरिरहेका चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई प्रारम्भिक उपचारका लागि लमही अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने कार र चालक ४८ वर्षीय रामप्रसाद चौधरीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार १५:१९ बजे