
दाङ, १५ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरसँगको सहकार्यमा उपमहानगरपालिकाले उद्धार अभियान सञ्चालन गर्दै सडकमा बसोबास गर्ने असहाय, बालबालिका तथा ज्येष्ठ नागरिकलाई संरक्षणमा लिइरहेको छ ।
अभियान अन्तर्गत शनिबार राती पनि तुलसीपुर उपमहानगरपालिका, मानवसेवा आश्रम, ईलाका प्रहरी कार्यालय तुलसीपुर, विभिन्न सरोकारवाला व्यक्तिको समन्वयमा तुलसीपुर बजारबाट एक जना सडक आश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताए ।
अभियानलाई सफल बनाउन सबै नागरिकको साथ र सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । ‘सडकमा कोही नबसुन्, सबैलाई सुरक्षित आवास होस्’ भन्ने लक्ष्यसहित सडक मानवमुक्त पालिका घोषणा गर्ने तयारी गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । नगरप्रमुख खड्काका अनुसार भदौ २८ गते सडक मानवमुक्त पालिका घोषणा गर्ने तयारी छ ।
सोहि अनुसार अहिले सडकमा बस्दै आएका बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूलाई उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएको छ । उपमहानगरपालिकाले विभिन्न सामाजिक संस्थाहरू, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य गरिरहेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताईन् ।
सडकमा आश्रय लिई जीवन निर्वाह गरिरहेका व्यक्तिहरूलाई उद्धार गर्ने, उनिहरुको विवरण संकलन गर्ने, उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र तत्काल आवासका लागि मानव सेवा आश्रममा लैजाने गरिएको उनले बताईन् ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार ०८:२५ बजे