एक बर्ष पछि विदेशबाट फर्केर वडाध्यक्षले सम्हाले पद, कार्यपालिका बैठकमा विरोध

दीपक बोहरा
दाङ, १४ भदौ ।
दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्केका छन् । बहाल भएकै अबस्थामा रोजगारकोलागि बेलायत गएका अध्यक्ष गुरुङ एक बर्षपछि फर्केका हुन् । उनी गएको बर्ष २० साउनमा विदेश गएका थिए ।“म एक हप्ताअघि मात्रै दाङ आएँ”,उनले भने“वडाअध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।”

कार्यपालिकाबाट अनुमति नलिएको भएपनि जानकारी गराएर विदेश गएको समेत उनले बताए । वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर गएको उनले बताए । यद्यपी अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले भने विरोध जनाएका छन् । उनी बैठकमा आएपछि शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न सकेन् । गुरुङ बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न दिईएको थियो । तर, उनको कुरा चित्त बुझ्दो नभएपछि प्रबक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा–४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा–६ का अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजालीले फरकमत दर्ज गरेर बाहिरिएका थिए ।


“जानकारी नदिएर एक बर्ष विदेश गएर हराउने, अनि अहिले आएर पद सम्हाल्ने कुरा गैर जिम्मेवारी हो, जनताप्रतिको धोका हो”, पालिका प्रबक्ता चौधरीले भने “हामीले सुरुमा कुरा राख्न दियौं, त्यसपछि बाहिर जान सुझाब दियौं, तर, उहाँ नगएपछि हामी आफैले असहमति दर्ज गरेर निस्केका हौं ।” प्रबक्ता चौधरीका अनुसार अध्यक्ष गुरुङ अब विदेश नजाने र बाँकी कार्यकाल वडाध्यक्षका रुपमा काम गर्ने भनि प्रतिबद्धता जनाएका थिए । तर, त्यसरी मनलाग्दी तरिकाले जाने कुरा जनमत माथि अपमान भएको उनको भनाई छ । गुरुङलाई कार्यपालिका बैठकमा समेत नबोलाउँदा पनि आफै आएको प्रबक्ता चौधरीको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वडाध्यक्ष गुरुङलाई हाजिर गराउने वा नगर्ने विषयमा कानुनी परामर्श लिएर मात्रै निर्णय हुने बताए । गुरुङ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । २०७९ को चुनाबमा उनी विजयी भएका हुन् । उनी निर्वाचित हुनुभन्दा पहिले सोही वडाको कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।