
दाङ, ८ भदौ ।
घोराही–८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहले आफूमाथि गरिएको अन्याय र कानुनविपरीतको निर्णय रोक्न माग गर्दै दायर गरेको रिटको पहिलो सुनुवाई सोमबार हुने भएको छ । उच्च अदालत तुलसीपुरमा शुक्रबार दर्ता गरिएको रिटलाई अदालतले अग्राधिकारमा राखी सुनुवाई गर्ने तयारी गरेको छ ।
शाहले आफूलाई कार्यपालिका बैठकमा अपमानजनक व्यवहार गर्दै, कुनै कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएको दाबी गरेका छन् । उनले दुई वर्षअघि दिएको राजीनामा समेत तत्काल स्वीकृत नगरी पछिल्लो समयमा मात्रै स्वीकृत गरेको भन्दै निर्णय बदर गर्न माग गरेका हुन् ।
“मलाई एक पटक पनि सफाइ दिनको अवसर नदिई अचानक पदबाट हटाइयो,” शाहले भने, “कार्यबाहक अध्यक्ष तोक्ने निर्णय गैरकानुनी भएकाले अदालतले पूर्ववत जिम्मेवारीमा फर्काउने विश्वास लिएको छु ।”
यदि अदालतले अन्तरिम आदेश जारी गर्यो भने शाह पूर्ववत पदमा फर्कनेछन् । यस्तो खण्डमा घोराही उपमहानगरका मेयर नरुलाल चौधरीलाई नैतिक संकट पर्ने विश्लेषण गरिएको छ ।
शाहले आफुलाई हटाउने प्रक्रियामा मेयर नरुलाल चौधरी, उप–मेयर हुमा डिसी र कार्यपालिकाका सम्पूर्ण सदस्यलाई विपक्षी बनाई रिट दायर गरेका छन् । उनले अब एमालेमा नफर्कने र बाँकी कार्यकाल जनताको मन जित्ने काममै समर्पित रहने बताउँदै कानुनी लडाइँ जित्ने विश्वास प्रकट गरेका छन् ।



लाइभदाङ । ८ भाद्र २०८२, आईतवार २१:१३ बजे