तुलसीपुरका युवक नेपालगंजमा ४७ ग्राम ब्राउन सुगरसहित पक्राउ

दाङ, ३० साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ पुलचोकका २७ वर्षीय बिराज बिक ठूलो परिमानको लागुऔषध ब्राउन सुगरसहित नेपालगंजमा पक्राउ परेका छन्।

बिहीबार दिउँसो करिब ४ बजे बाँकेको नेपालगंजस्थित त्रिभुवन चोक नजिक अस्थायी प्रहरी पोष्ट नेपालगंजका प्रमुख प्रहरी सहायक निरीक्षक सुनिल शाही नेतृत्वको टोलीले सुराकका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।


तलासीका क्रममा उनको शरीरमा लुकाइछिपाइ राखिएको ४७ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउको समयमा उनी श्रीमतीसहित फेला परे पनि, श्रीमती निर्दोष देखिएकाले सोही दिन नै रिहा गरिएको थियो।

पक्राउ परेका बिराजलाई म्याद थपका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।