अपारको एउटा प्रोजेक्ट-सभाहल, जो बजेट हाल्न भन्दा जग्गा प्राप्तीमा कठीन थियो 

तुलसीपुर, ९ साउन । जगप्रसाद शर्मा(अपार) राष्ट्रियसभा सदस्य हुँदा उनको एउटा प्रोजेक्ट थियो सभाहल । तुलसीपुरमा सरकारी स्तरको सभाहल नहुँदा हरेक कार्यक्रम गर्न समस्या भएपछी उनकाे पहलमा तीन करोड बजेट परेको थियो ।  तर, बजेट परेपनि सरकारी जग्गा नभेटिदा त्यही रकम पनि फ्रिज जाने हो की भन्‍ने उनको चिन्ताको विषय थियो । किनकी उनको पहलमा अघिल्लो पटक चिस्यान केन्द्रकालागि भनेर हालेको बजेट फ्रिज भएको थियो । 

तर, उनी आफै फिल्डमै खटेर सरकारी जग्गा खोजी गरे र, भेटियो तुलसीपुर ६ स्थित यातायातको ट्रायल सेन्टर नजिकको जग्गा । जुन जग्गा उच्च सरकारी वकिल कार्यालयको मातहत रहनेगरि शोभा भगवति मन्दिरको नाममा थियो । त्यो जग्गालाई ट्रायल सेन्टरले भाडामा लिएको थियो  । ट्रायल सेन्टरको भाडा सम्झौता सकिएपछि तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारी(बर्षाद) सहितको पहलमा त्यो जग्गालाई खाली गरेर सभाहल निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो  ।” ६ नम्बर वडाध्यक्ष र मैले त्यो जग्गा खोजेपछि बल्ल काम अगाडी बढेको हो” अपारले भने” यसमा वडाध्यक्षको भूमिका पनि महत्वपूर्ण छ ।”  

अहिले त्यो सभाहल निर्माण पूरा भएको छ । जुन सभाहल बहुउद्देशीय सभाहल हो । उक्त भवनको शुक्रबार नगरप्रमुख टिकाराम खड्कालाई हस्तान्तरण गरिएको थियो । निर्माण कम्पनी केके एण्ड सी इन्जिनियरिङ्ग कन्सलटेन्सीले १ करोड ५१ लाख ५६ हजार ७२ रुपैयाँ ९९ पैसा (भ्याटसहित) लागतमा निर्माण गरेर उपमहानगरपालिकालाई बुझाएको हो । जुन सभाहल उपमहानगरपालिका मातहत रहनेछ । 

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, घोराहीले आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का प्रक्रिया अघि बढाएको हो । जुन भवन तुलसीपुर–६, इन्द्रनगरमा निर्माण भएको छ । दाङले २०८२ जेठ २३ गते सम्झौता गरी काम एक बर्ष भित्र निर्माण पूरा गर्नु पर्ने थियो । तर कम्पनीले त्यो भन्दा पनि अघि नै काम पूरा गरेर हस्तान्तरण गरेको हो । 

हाल सभाहल नहुँदा नगरसभा, सार्वजनिक सुनुवाइ, तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्न पालिकाले शिक्षा तथा स्वास्थ्य संस्थाका सभाहल प्रयोग गर्नु परेको छ । हाल निर्माण भएको सभाहल नेपाल सरकारको स्वामित्वमा निर्माण भएको दोस्रो आधुनिक सभाहल रहेको नगर प्रमुख टिकाराम खड्काले बताए । 

अधिकांस सरकारी कार्यालयहरु ६ नम्बर वडामा रहेकाे भन्दै अब हरेक सरकारी कार्यक्रमहरु गर्न सहज हुने तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले बताए । निकै कठीन संघर्षबाट यो जग्गा प्राप्ती भएको समेत उनको भनाई छ ।” तत्कालिन माननीय अपार र मैले यो जग्गा खोजेपछि बल्ल काम सुरु भएको हो” उनले भने ।


 

अपारको पहलमा बजेट आयो, उपमहानगरले जग्गा नभेटाउँदा बजेट फ्रिज

अपारकै पहलमा एक करोड ९१ लाख बजेट चिस्यान केन्द्रकालागि बजेट बिनियोजन भएको थियो । आर्थिक बर्ष २०८१/०८२ कालगि तत्कालिन अर्थमन्त्री बर्षमान पुनले उक्त बजेट बिनियोजन गरेका थिए । तर, उपमहानगरपालिकाले त्यसकालागि सरकारी जग्गा उपलब्ध गराउन नसकेपछि त्यतिकै फ्रिज भएर गएको थियो ।

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले ऐलानी जग्गामा उक्त चिस्यान केन्द्र बनाउन भनेका थिए । उद्यपी सरकारी बजेट ऐलानीमा बनाउन नमिल्ने भएपछि त्यो बजेट फ्रिज जाने अबस्था बनेको थियो । 

साथै अपारको अर्को प्रोजेक्टका रुपमा रहेको बहुउद्देश्यीय पुस्तकालय भने हाल निर्माण भइरहेको छ । तुलसीपुर ७ मा उक्त पुस्तकालय निर्माण भइरहेको छ । त्यसलाई केही समयपछि सञ्चालनमा ल्याउने तयारी छ ।