
दीपक बोहरा
दाङ, १५ साउन ।
रा ३ प १२४४ नम्बरको मोटरसाईकल । त्यही मोटरसाईकलको पछाडी जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ– दाङ तुलसीपुर उपमहानगरपालिका ४ माथिल्लो हलवार निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाईकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् र गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् । आफैले गरेको तरकारी खेतिबाट उत्पादन भएको तरकारी मोटरसाईकल पछाडी जोडिएको डोकोमा बोकेर बेच्छन् ।
विगत १० वर्षदेखि यसरी नै आफूले उत्पादन गरेको तरकारी बजारमा विक्री गर्दै आएको उनले बताए । “मैले दश वर्ष भयो तरकारी खेति गरेको”, उनले भने “यही तरकारी मोटरसाईकलको पछाडी जोडिएको डोकोमा लगेर बजार विक्री गर्दै आएको छु, यसले नै मलाई छोराछोरी पढाउन पुगेको छ ।”
बिहान ५ बजे उठेर उनले अहिले उत्पादन भएका काँक्रा र बोडी गाउँ–गाउँमा लिएर बेच्छन् । मोटरसाईलकमा राखेर खाद्रे, बनहरी, तल्लो ग्वारखोला, माथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरलगायतमा लगेर बेच्छन् ।
त्यसपछि १० बजेतिर घरमा आएर खान खान्छन्, अनि उनले तुलसीपुर बजारमा लिएर तरकारी बेच्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ । यस वर्ष दैनिक ५ क्वीन्टल जति तरकारी र काँक्रा बिक्री गर्ने गरेको उनको भनाई छ ।“विगतमा वर्षमा दैनिक ७/८ क्वीन्टलसम्म विक्री गर्थे”, उनले भने “यस वर्ष त्यति बजार पाएको छैन, त्यही पनि ५ क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”
उनले बोडीलाई ५० रुपैयाँ किलोमा बिक्री गर्दै आएका छन्, भने काँक्रालाई एक सयको ढाईकिलो बिक्री गर्दै आएका छन् । बोडी र काँक्राको सिजन असारदेखि साउन महिनाको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा दुईलाखसम्मको कारोवार हुन्छ, भने काक्रा पाँचलाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर चार देखि पाँच लाख रुपैयाँसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए ।
अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटर खेति गर्ने तयारी गरेको उनले बताए । बैशाखमा रोपिएका काक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताए । यसरी वर्षमा दुई सिजनमा तरकारी खेति गरेर आम्दानी लिने गरेको उनले बताए । १० कठ्ठा जग्गामा उनले यसरी तरकारी खेति गरेका छन् ।
विदेशमा दुःख पाएपछि आफ्नै ठाउँमा खेति
बुढाथोकी लामो समय रोजगारकालागि विदेश बसे । उनको पुख्र्यौली घर रोल्पा रुन्टीगढी ७ हो । उनी ६ वर्ष भारतमै काम गरे । भारतमा कमाएको पैसाले उनले सोही ठाउँमा १० कठ्ठा खेत किने । त्यसपछि ६ वर्ष कतार बसे । भारत र कतारमा बस्दा उनले मजदुरी गर्दा निकै दुःख पाएपछि आफ्नै ठाउँमा परिश्रम गरेर आम्दानी गर्ने लक्ष्य लिएर स्वदेशमै तरकारी खेति सुरु गरेको बताए । तरकारी खेति गरेर उत्पादन गरे पनि बजारीकरणको समस्याले पनि उनलाई सतायो । बजारका तरकारी व्यवसायीहरुले १० रुपैयाँ किलो काक्रा पनि नकिन्ने अवस्था भयो । “हामीबाट दश रुपैयाँ किलो भन्दा पनि कममा खरिद गर्ने र बजारमा लिएर एक व्यवसायीले एक सय रुपैयाँ किलोमा बिक्री गर्ने अवस्था आयो”,उनले भने “यसले वास्तविक किसान निकै मारमा पर्ने अवस्था आएपछि मैले आफैले मोटरसाइकल किनेर डोकोमा बेच्न थालेको हुँ ।”
अहिले उनले यसरी नै दुई छोरीलाई पढाईरहेका छन् । उनका ३ छोरी र एक छोरा छन् । ति मध्ये जेठी छोरीको विहे भइसकेको छ, भने माइली र कान्छी छोरी क्रमशः १० र ८ मा पढ्छन् । छोरा भने भर्खर ४ वर्षको भएका छन् । उनीहरुलाई पठन पाठन तथा पालन पोषण पनि यही खेतिबाट गर्दै आएको उनको भनाई छ ।
अहिले मोटरसाईकलमा बिक्री गर्दा पनि नगर प्रहरीबाट अवरोध हुने गरेको उनले बताए । डोकोमा बेच्दा पटक–पटक नबेच्न भनि धम्की समेत आउने गरेको बताए । “एक पटक त जफत नै गरेर लिनुभयो”, उनले भने “अपशब्द प्रयोग गरेर गाली गर्छन् ।” किसान कार्ड बनाएर आफूले बजारमा बिक्री गर्दा पनि अवरोध हुने गरेको भन्दै यसले किसानलाई विस्तापित गर्ने अवस्था आउने समेत उनले बताए ।
अर्गानिक मलको प्रयोग
उनले घरमा गाईभैसी पालेका छन् । त्यही गाईभैसीको मल नै तरकारी उत्पादनमा प्रयोग गर्ने गरेको बताए । यसरी घरमै मल उत्पादन हुने भएकाले पनि रासायनिक मलको निकै कम प्रयोग गर्ने गरेको उनले बताए । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १६ श्रावण २०८२, बिहीबार १०:४२ बजे