
दाङ, ९ साउन ।
साउन ६ गते बेलुका भेरी नदीमा टिप्परसहित खसेका दाङका मनिराम चौधरीको शब शुक्रबार सुर्खेतमा फेला परेको छ । चौधरी रा १ क १५०१ नम्बरको टिप्परका चालक हुन । चौधरीको घर दाङको कुन ठाउँ हो भन्ने खुल्न सकेको छैन ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश बिष्ट टिप्परसहित भेरी नदीमा खसेर बेपत्ता तीन जना मध्य चालक चौधरीको शब झन्डै ६० किलोमिटर भन्दा टाढा सुर्खेतमा फेला परेको बताए ।
डिएसपी बिष्टका अनुसार सुर्खेतको भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा चौधरीको शब फेला परेको थियो । त्यो दुर्घटनामा परेका मध्य दुई जना रुकुम पश्चिम सानिभेरी गाउँपालिका – ३ का धनविर बराइली र रुकुम पूर्वको सिस्ने गाउँपालिका – ८ स्यालापाखाका हरि बिकको अवस्था हालसम्म पनि अज्ञात छ ।
डिएसपी बिष्टले सुर्खेतमै अर्को एउटा शब पनि फेला परेको खबर आएपनि कस्को हो भन्ने एकिन भइ नसकेको बताए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर टिप्परसहित तीन जना भेरी नदीमा खसेका थिए ।
टिप्पर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका – ११ चिसापानीबाट वडा नं.१४ को छेपारे तर्फ जाँदै थियो ।
भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ। रुकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरुको खोजीकार्य गरिहेका छन् । टिप्पर भने बुधबार बेलकी खसेको ठाउँ भन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो ।



लाइभदाङ । १० श्रावण २०८२, शुक्रबार १७:४८ बजे