दिक्षा तामाङ्ग र स्यान्टु श्रेष्ठले जिते स्वर्ण

Red rackets and ping pong ball for table tennis.

तुलसीपुर, १८ पुस ।

नेपाल एपीएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् । दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी छन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरेकी छन् । द्वितीय स्थान हासिल गर्ने रविनाले २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेकी छन् ।

यस्तै तेश्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०, १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधी हात पारेका छन् । उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे । विनेशले द्धितीय स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका छन् । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउन र एपिएफका संयोगक कपालीले नगद १०÷ १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुस १६ देखि १८ गतेसम्म संचालित प्रतियोगितामा तीन विभागियसहित २८ टिमको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद बिभाग प्रमुख, काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकासमा लगानीमा बढाउन नसकेको बताए । ‘खेलकुदको विकासमा राज्यको लगानी निकै कम छ ।’ उनले भने–‘केहि नीजि क्षेत्रका कारण थोरै भएपनि खेलाडी र खेलकुदको विकास भएको छ ।’


उनले विश्वभरी राष्ट्रको झण्डा फहराउने, देशको इज्जत राख्ने खेल क्षेत्रका गतिविधिहरु पलायन हुदै जाँदा खेलाडीहरु खिया लागेको हतियार जस्तै भैसकेको बताए । ‘खेलकुदका माध्यमबाट खेलाडीले नेपाललाई विश्वमा चिनाएका छन् ।’ उनले भने–‘तर खेलकुदमा राज्यले लगानी गर्न सकेको छैन् ।’

उनले कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई ‘युथ क्लब’ले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरि खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताए । खेल क्षेत्रको पछिल्लो अवस्था दयनिय बन्दै गएको अवस्थामा खेलकुदका गतिबिधिहरुलाई व्यापक रुपमा अगाडि बढाउन जरुरी रहेको उनको धारणा छ ।

एक वर्ष भित्रमा कांग्रेस खेलकुद विभाग, लोकतान्त्रिक खेलकुद सघंले देशभरी खेलकुदका प्रतियोगिताहरु व्यापक रुपमा अघि बढाउने निर्णय गरेको हुँदा त्यसले खेलकुद क्षेत्रलाई चलायमान बनाउन सघाउने उनले बताए । युथ अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । समापन कार्यक्रमको सहजिकरण प्रतियोगिताको प्रचारप्रसार संयोजक किरण केसीले गरेका थिए ।