नेपाल उद्योग व्यापार महासंघ घोराहीद्वारा सेवा घरलाई खाद्यान्न सहयोग

घोराही, ३१ असार ।
नेपाल उद्योग व्यापार महासंघ घोराहीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत घोराही उपमहानगरपालिका–१० स्थित मानव कल्याण समाज (सेवा घर)लाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

नगर अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता तथा महासंघका केन्द्रीय उपाध्यक्ष ओबिन्द्र महराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चामल, तेल, फ्रुटी लगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नरबहादुर अधिकारी, मानव कल्याण समाजसेवा घरका सल्लाहकार एवं घोराही उपमहानगरपालिका–१४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शालिग्राम आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य नोर्बु तामाङ, नगर महासचिव विकास ओली लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै सल्लाहकार शक्तिराम डाँगीले मानवताका लागि गरिएको सहयोगप्रति धन्यवाद दिँदै सामाजिक सेवाभावले अगाडि बढ्दा मात्रै समावेशी र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो।

त्यसैगरी नगर अध्यक्ष महेन्द्र बुढाथोकीले स्थापना दिवसको अवसरमा समाजसेवामा हातेमालो गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नलिएर सामाजिक उत्तरदायित्वका रूपमा मनाउँदै आएको बताउनुभयो । यसरी सेवामूलक संस्थाहरूसँग सहकार्य गर्नु नै साँचो उत्सव भएको उहाँको भनाई थियो ।