तुलसीपुरका कपडा ब्यबसायी भन्छन्ः ड्रेसमा स्कुलको सिन्डिकेट भयो

तुलसीपुर, २४ असार । विद्यालयहरुले ड्रेस सिलाउने कार्यमा सिन्डिकेट लादेको तुलसीपुरका कपडा ब्यबसायीहरुले गुनासो गरेका छन् ।

नेपाल कपडा तथा सिलाई ब्यबसायी संघले मंगलबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई ध्यानाकर्षण गराउँदै केही विद्यालयहरुले आफै नै कपडा बेच्ने गरेको तथा केहीले आफूले तोकेको पसलमा जान भनिरहेको बताएका छन् । अभिभावकहरुले आफू अनुकूलको पसलमा गएर ड्रेस सिलाउन समेत बन्देज गरेको अबस्था रहेको संघका तुलसीपुर अध्यक्ष गोपाल नेपालीले बताए ।

उनका अनुसार केही स्कुलले कपडा पसल नै दर्ता गरेर विद्यालयको हाताभित्रै कपडा नै वितरण गरेको उनीहरुको भनाई रहेको छ । विद्यालयहरुले कमिसनको लोभमा यसरी सिन्डिकेट लाद्दा आफ्नो ब्यबसाय धरापमा परिरहेको उनीहरुको भनाई थियो । केही निश्चित गार्मेन्टहरुले विद्यालयको ड्रेस सिलाउने जिम्मा लिने गरेको समेत पाईएको उनको भनाई छ । यस्तो गर्नेहरुमो धेरै निजि विद्यालय रहेको समेत उनीहरुको भनाई थियो ।


यो समस्यालाई समाधानकालागि अध्यक्ष गोपाल नेपाली र सचिब तारा परियारले हस्ताक्षर गरेको ज्ञापन पत्र समेत नगर प्रमुख खड्कालाई हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा खड्काले विद्यालयको काम कपडा बेच्ने नभई पढाउने रहेको बताएका थिए । अहिले विद्यालयले नै कपडा बेच्ने जस्ता कार्य गरेको भन्दै यो गलत रहेको समेत उनले बताए । विद्यालयका प्रधानाध्यापक, कपडा ब्यबसायी, गार्मेन्ट ब्यबसायीहरुबीच छलफल गरि यो समस्या हल गर्ने समेत उनले बताए ।