
दीपक बोहरा
तुलसीपुर, २४ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिका भित्रका ८० किसान समूह तथा फर्महरुलाई पावर टिलर वितरण गरेको छ । मंगलबार कृषि सहकारी र फर्महरुलाई ८० वटा पावर टिलर सहयोग गरेको हो । त्यस्तै ७ वटा चाफ कटर मेसिन र दाना एवं धान कुट्ने तीन वटा मेसिन सहयोग गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले ति मेसिन हस्तान्तरण गरेका हुन् । कृषि र पशु सेवा शाखाको संयुक्त आयोजनामा किसानहरुलाई मेसिन सहयोग गरिएको हो । ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको हो । बोलपत्र मार्फत खरिद गर्दा पावर टिलरलाई ४७ हजार पार्न गएको छ भने चाफ कटरलाई ३७ हजार पाँच सय र दाना एवं धान कुट्ने मेसिनलाई ४२ हजार पर्न गएको छ । यो बजारको मूल्य भन्दा कम रहेको प्रमुख टिकाराम खड्काले बताए ।
उनका अनुसार यो खरिद मूल्यको ५० प्रतिशत अनुदानमा किसानहरुलाई सामग्री प्रदान गरिएको हो ।“यी सामग्री बजार मूल्य भन्दा सस्तोमा खरिद भएको छ”,उनले भने “हामीले यसमा पनि ५० प्रतिशत अनुदान दिएका छौं ।” कृषि पेशा नै समृद्धिको आधार रहेको भन्दै किसानहरुलाई प्रोत्साहन गर्न यो कार्य गरिएको उनको भनाई छ ।
यसरी सामग्रीहरु उपमहानगरपालिकाले प्रदान गरेको भन्दै यसलाई सही सदुपयोग गर्नुपर्ने समेत उनले बताए । “हामीले यी मेसिनहरु दिएका छौं, यी मेसिनहरु सही सदुपयोग हुनुपर्छ”,उनले भने “प्रयोग पनि नगर्ने, उल्टै विक्री गर्ने जस्ता कार्य हुने भएमा हामी जफत गर्न पनि बाध्य हुनेछौं ।”
सागम्री पाएपछि किसान पनि खुसी भएका छन् । बाहिर किन्दा ७५ हजार रुपैयासम्म मेसिनको मूल्य पर्ने भन्दै यसरी अनुदानमा आउँदा २४ हजारमै पाउँदा खुसी भएको तुलसीपुर १९ स्थित दाङ भ्याली कृषि सहकारीका अध्यक्ष मनबहादुर बुढाथोकीले बताए ।





लाइभदाङ । २४ असार २०८२, मंगलवार १९:३९ बजे