माबि दोघरको भवन बनेको जग्गा आफ्नो नाममा ल्याउने

तुलसीपुर, २४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ स्थित मावि दोघरले निर्माणाधिन भवन बनेको जग्गा आफ्नो नाममा ल्याउने भएको छ ।

मंगलबार भएको विद्यालयका सरोकारवालाको बैठकले हाल विद्यालयको भवन निर्माणस्थलको जग्गा ल्याउनकालागि तुलसीपुर उपमहानगरपालिका र नगर विकास समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । त्यसकालागि पाँच सदस्यीय कार्यदल समेत गठन गरिएको विद्यालयका सूचना अधिकारी मेघराज पोख्रेलले बताए ।

विद्यालय पुरानो भवन भन्दा सातसय मिटर दक्षिणतर्फ स्तान्तरण भएको छ । त्यहाँ अहिले २४ कोठे भवन बनिरहेको छ । त्यो भवन निर्माण पूरा हुने वित्तिकै कक्षा सुरु गर्ने तयारी रहेको सूचना अधिकारी पोख्रेलले बताए । सकेसम्म साउनदेखि कक्षा सञ्चारन गर्ने गरि तयारी थालिएको उनको भनाई छ ।

हाल त्यो जग्गा नगर विकास समितिको नाममा छ । त्यहाँका १० कठ्ठा जग्गामा भवन तथा अन्य संरचना निर्माण हुन लागेका हुन् । विद्यालयको पुरानो भवन जीर्ण भएपछि नयाँ स्थानमा भवन निर्माण गरेर विद्यालय स्तान्तरण गर्न थालिएको हो । पुरानो विद्यालयका भवनहरु पनि नगर विकास समितिकै जग्गामा थिए ।


नयाँ विद्यालयमा जाने वाटो पनि खोल्ने गरि निर्णय भएको छ । अहिले नयाँ भवनमा जाने वाटो छैन ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नागरिक समाजका पूर्वध्यक्ष टिकाराम रेग्मी, दिनेश कुमार डाँगी, मिनबहादुर वली, निमबहादुर वली, विष्णु लामिछाने, डा.किशोर खत्री,मुक्तिप्रसाद न्यौपाने, तुलसीपुर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नं.११ का अध्यक्ष मानबहादुर रावत, वडा नं. ८ का अध्यक्ष धर्मराज वली, वडा नं. ३ का अध्यक्ष विरबहादुर विकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक सुनिता यादवले विद्यालयको अबस्थाका बारेमा प्रष्ट पारेकी थिइन भने सहजीकरण सहायक प्रधानाध्यापक घनश्याम आचार्यले गरेका थिए ।