बाँझो जग्गामा बक्सिङ प्रशिक्षकले फलाएको तरकारी

दीपक बोहरा
तुलसीपुर, २२ जेठ ।
कुनै समय बाँझ थियो । उजाड जस्तै देखिन्थ्यो । तर, अहिले हरियाली देखिन्छ, लटरम्म तरकारी फलिरहेको दृष्यले त्यहाँको वातावरण नै मनोरम बनाएको हुन्छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ डोक्रेनामा १० विघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यवसायिक तरकारी खेति गरेका छन् । उनी होटेल व्यवसायी पनि हुन् । दिउँसो र साँझ जागिर र होटेल तिर व्यस्त भएपनि  विहानको समय तरकारी खेतिलाई दिने गरेको उनी बताउँछन् । “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिर तिर जान्छु”,उनले भने “साँझ होटेल तिर पनि जानुपर्छ, विहान र कहिलेकाँही साँझ मात्रै तरकारीलाई समय दिएको छु ।”

कोरोना महामारीको सुरुवातमा भएको ‘लकडाउन’का बेलादेखि उनले व्यवसायिक तरकारी खेति सुरू गरेका हुन् । सुरूमा पाँच जनाले संयुक्त तरकारी खेति गरेको भएपनि पछिल्लो दुई वर्ष यता राजु एक्लैले उक्त तरकारी खेति गरिरहेका छन् । उनले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेति गरेका छन्।

डेढ विघा क्षेत्रफलमा बोडी, डेढ विघा क्षेत्रफलमा काँक्रा, १५ कठ्ठा क्षेत्रफलमा लौका, १ विघामा करेला, २ विघा जतिमा टमाटर तथा १५ कठ्ठामा स्पाईस खेति गरेको राजु बताउँछन् । तरकारी खेतिमा उनले ४५ जनालाई रोजगारी समेत दिएका छन् । १० जनालाई मासिक तलब दिएर कामदार राखेका छन् । उनीहरूलाई मासिक २५ हजारसम्म तलब छ, भने बाँकीलाई ज्यालादारीमा रोजगार दिईएको राजुले बताउँछन् ।

उनका अनुसार ज्यालादारीहरूलाई दैनिक पाँचसयका दरले दिने गरेको उनले बताउँछन् । रोजगार पाएकाहरू सबै गाउँकै हुन् । गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् ।“गाउँमै रोजगारी पायौं, पहिले लेबर गर्न बजार जानु पथ्र्यो”, ज्यालादारीमा काम गरिरहेकी सर्मिला चौधरीले भनिन् “तर, अहिले गाउँमै रोजगारी पाएका छौं ।”

त्यहाँ उनले दुई सिजनमा तरकारी खेति गर्दै आएका छन् । हिउँदे र वर्षे तरकारी खेति गर्दै आएका उनले एक सिजनमा २० लाख देखि बढि आम्दानी गर्दै आएका छन् । “एक कुनै समय बजारले भाउ नपाउँने, नियमित बर्षाद हुँदा तरकारीमा क्षति हुने गरेको अवस्था पनि छ”,उनले भने “त्यो बाहेक राम्रो हुँदै गएमा एक सिजनमा २० लाख भन्दा बढि पनि आम्दानी हुनेगर्छ ।”


एक सिजनमा ४५ लाख खर्च आउँने गरेको समेत उनले बताउँछन् । वर्षमा दुई सिजन खेति हुँदा बार्षिक एक करोड खर्च हुने र त्यो खर्च कटाएर ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाई छ ।

तरकारीले बैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भएपनि त्यो भन्दा पछि भने विस्तारै मूल्य घट्दै जाने गरेको उनी बताउँछन्  । “बजार भाउमा सरकारले अलिकति ख्याल गरिदिए हुन्थ्यो, सबै तिर मूल्यमा एकरुपता भएमा सहज हुन्थ्यो”,उनले भने “तीन दिन अघि मात्रै होलसेलमा ७० रुपैयाँ किलो बिक्री हुने गरेको बोडी हिजो आज मात्रै ३० रुपैयाँमा बिक्री गर्नुपरेको छ”,उनले भने “टमाटर ३० रुपैयाँ थियो, एक्कासी २० भयो ।” दिनप्रतिदिन यसरी तरकारीको मूल्य घट्दै गइरहेको उनको भनाई छ ।

उत्पादित तरकारी दाङको बजारमा मात्रै होईन्, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताए । १० विघा जग्गालाई बार्षिक पाँच लाख रुपैयाँ तिरेर लिजमा लिईएको थापाको भनाई छ । तरकारी खेतिबाट आम्दानी राम्रै लिन सकिने भएपनि यसमा सरकारले थप सहजता भने बनाउनु पर्ने उनको माग छ । “समयमा मल पाइदैन, मल महंगोमा किनेर ल्याउनु पर्छ”,उनले भने “मूल्यमा पनि एकरुपता ल्याइदिए सहज हुन्थ्यो ।”   उनी लामो समय बक्सिङ खेलाडीका रूपमा पनि रहेका छन् । २०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रूपमा रहेका उनी तीन वटा राष्ट्रिय खेल पनि खेलेका छन् । अहिले प्रशिक्षकका रूपमा रहेका उनले उत्पादन गरेका चेलाहरू अन्तर्राष्ट्रिय खेलका लागि समेत छनोट भएका छन्  । तर, उनले लकडाउनले गर्दा त्यो खेल खेल्न जान पाएनन् ।

उनी ४९ औं खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट सम्मानित समेत भएका थिए । तरकारी विधामा उनी सम्मानित भएका हुन् । उनी तुलसीपुर–४ बनहरी निवासी हुन्।  साभारः अग्रिम साप्ताहिक