
दाङ, २३ असार । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारी तथा निजि अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनका कारण दाङमा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित सबै सरकारी अस्पताल तथा निजि अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएको हो ।
नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रम अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगायतका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प भएको छ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पदमराज अधिकारीले आन्दोलनका कार्यक्रम अनुसार आज ओपिडि सेवा बन्द रहने बताउनुभयो ।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि उपचार सेवा लिन आएका बिरामीहरू मर्कामा परेका छन् । संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ–संगठनहरूसँगको छलफलपछि देशभर आन्दोलनको कार्यतालिका तय गरेको हो ।
उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।



लाइभदाङ । २३ असार २०८२, सोमबार ०९:५१ बजे