वाचा अनुसारको सहयोग : अनाथ बालबालिकालाई घिमिरे र आचार्यको साथ

अनिल अधिकारी
दाङ, १७ असार ।
नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य किरणकिशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले आफुहरूले गरेका वाचा अनुसार वंगलाचुली गाउँपालिका–४ का अनाथ बालबालिकालाई शैक्षिक सहयोग गरेका छन्।

गतवर्ष सवारी दुर्घटनामा ज्यान गुमाएका खेतुलाल नेपालीका दुई सन्तानको कक्षा १२ सम्मको पठनपाठनको जिम्मा लिएका नेता द्वयले आफ्ना प्रतिबद्धता अनुरूप शैक्षिक सामग्री तथा नगद सहयोग हस्तान्तरण गरेका हुन्।

                               

घिमिरे र आचार्यको आग्रहमा नेपाली कांग्रेस दाङका जिल्ला कार्यसमिति सदस्य विरबहादुर खत्री (विरु) ले ती बालबालिकाको निवासमै पुगेर आवश्यक शैक्षिक सामग्री र नगद रकम हस्तान्तरण गरेका थिए।


इन्द्र नेपाली हाल कक्षा ८ मा तथा मनिषा नेपाली कक्षा ४ मा अध्ययनरत छन्। सहयोग प्राप्तिपछि दुवै बालबालिका खुसी हुँदै भविष्यमा पनि पढाइमा निरन्तरता दिने र सामाजिक सेवामा लाग्ने प्रतिबद्धता जनाए।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस वंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, वडा नं. ४ र ५ का सभापति दसबहादुर डाँगी र केशव घर्ती, समाजसेवी दामोदर सुवेदी लगायतको उपस्थिति रहेको थियो।

हजुरबुबा दिलबहादुर नेपालीले अभिभावक गुमाएका नाती–नातिनीका लागि नेता घिमिरे र आचार्यले देखाएको माया, सहानुभूति र जिम्मेवारी सराहनीय भएको बताए। नेता द्वयको यस कदमलाई स्थानीयहरूले ‘वाचा पूरा गर्ने नेतृत्व’को उत्कृष्ट उदाहरणका रूपमा लिएका छन्।