
तुलबहादुर कवँर मगर
मसुरिया, १४ असार ।
जथाभावी एण्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि समुदायस्तरमै चेतना फैलाउनुपर्नेमा एक कार्यक्रममार्फत सरोकारवालाहरूले जोड दिनुभएको छ।
शनिबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मसुरियामा सम्पन्न ‘प्रतिजैविक प्रतिरोध न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा चिकित्सकको सल्लाहबिना एण्टिबायोटिक औषधिको अनियन्त्रित प्रयोगले भविष्यमा गम्भीर स्वास्थ्य संकट निम्तिन सक्ने भन्दै नियन्त्रण र सचेतना फैलाउनु पर्नेमा सहभागिहरूको जोड थियो।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चेतनाको कमी र सजिलै औषधि किन्ने प्रवृत्तिले समस्या झनै जटिल हुँदै गएको बताउनुभयो। “पछिल्लो समय सामान्य रोगले पनि मानिसको ज्यान जाने अवस्था देखिन थालेको छ,” उहाँले भन्नुभयो, “एण्टिबायोटिक प्रयोग चिकित्सकको सल्लाहबिना गर्नु घातक हुनसक्छ।”
उहाँले केही औषधि व्यवसायी र स्वास्थ्यकर्मीहरू आफैंले समेत आवश्यकता बिना एण्टिबायोटिक दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, त्यसले बिरामीमा थप जटिलता उत्पन्न गरिरहेको उल्लेख गर्नुभयो। साथै, औषधि पूरा कोर्स नगरेको वा समयमा नखाएको कारणले पनि प्रतिरोध समस्या बढ्ने भएकाले व्यवहार सुधार गर्नुपर्ने धारणा राख्नुभयो।
गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले स्वास्थ्य समस्या न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य भएको बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख नारायण राउतले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि समुदाय, सरकार, स्वास्थ्य संस्था र व्यवसायीहरूबीच बहुपक्षीय सहकार्य आवश्यक रहेको बताउँदै, पशुपन्छी, फलफूल तथा तरकारीमा प्रयोग हुने रसायन र एण्टिबायोटिकको नियन्त्रणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा पशु चिकित्सक डा। विनय थापा र जनस्वास्थ्य अधिकृत पोषणराज ढकालले प्रतिजैविक प्रतिरोधसम्बन्धी विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँहरूले विश्वव्यापी रूपमा एण्टिबायोटिक प्रतिरोध शक्ति तीव्र गतिमा बढिरहेको तथ्यांकहरू प्रस्तुत गर्नुभएको थियो।
सहभागीहरूले चिकित्सकको सल्लाहबिना औषधि नदिने र नकिन्ने बानी बसाल्नुपर्ने सुझाव दिनुभयो। साथै, स्वास्थ्य व्यवसायहरूलाई कानुनी रूपमा थप जिम्मेवार बनाइनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता पहलमान चौधरी, राप्ती आधारभूत अस्पताल कालापानीका प्रशासन प्रमुख धनबहादुर खड्का, लालमटिया स्वास्थ्य चौकी भालुबाङका प्रमुख कृष्ण श्रेष्ठ, विभिन्न सरकारी तथा निजि स्वास्थ्य संस्था प्रमुखहरू र एग्रोभेट व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेलले गर्नुभएको थियो।



लाइभदाङ । १४ असार २०८२, शनिबार १९:१६ बजे