दाङमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

तुलसीपुर, १४ असार ।
दाङको तुलसीपुरमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षीय चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार मगरले एक बालिकालाई पाँच सय रुपैयाँ दिएर जबरजस्ती करणी गरेको आरोप लागेपछि पीडित पक्षबाट उजुरी परेको थियो। उजुरीका आधारमा प्रहरीले शुक्रबार साँझ मगरलाई पक्राउ गरेको हो।


पीडितको गोपनीयता सुनिश्चित गर्न उनको नाम र घटना स्थल खुलाइएको छैन। हाल घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कानूनी प्रावधान के भन्छ ?
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार करणी जस्तो गम्भीर अपराधमा पीडितको उमेर हेरी सजाय निर्धारण गरिन्छ। यदि पिडित १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म, १० देखि १४ वर्ष मुनिकी बालिका भए १४ देखि १६ वर्षसम्म, १४ देखि १६ वर्ष मुनिकी भए १२ देखि १४ वर्षसम्म, १८ वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म, र १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ। प्रहरीले अपराध पुष्टि भएमा कानूनअनुसार कडा कारबाही हुने जनाएको छ।