
दाङ, २ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीमा आईतबार राति परेको चट्याङले गोठमा आगलागी हुँदा पशुचौपायासहित लाखौंको क्षति भएको छ।
स्थानीय सागर पौडेलको गोठमा चट्याङ लागेर आगो लाग्दा गोठभित्र बाँधिएका दुई भैँसी, तीनवटा खसी, एक बाख्रा र दस वटा कुखुरा जलेर मरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक भैंसी घाइते भएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीले करिब १० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी, दमकल र स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो। बिहान साढे २ बजेतिर आगो पूर्णरूपमा निभाइएको जनाइएको छ।
इलाका प्रहरी पोस्ट पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमान्डमा ४ जनाको टोली खटिएको थियो । मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।



लाइभदाङ । २ असार २०८२, सोमबार ०८:१६ बजे