
सल्यान, ३० जेठ ।
पहिरोले अवरुद्ध भएको झन्डै १० घण्टा पछि अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट –दाङ सडकखण्डको विभिन्न ठाउँमा वर्षासँगै आएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
सल्यान र दाङको सिमाना कपुरकोट गाउँपालिका ३ चोरखोला र तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा शुक्रबार बिहान ठूलो पहिरो झरेको थियो । मेसिनको मद्धतबाट पहिरो हटाएपछि एकतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । चोरखोलामा गएको पहिरो निकै ठूलो भएकाले तत्कालका लागि एकतर्फीमात्र सडक सञ्चालन गर्न सम्भव भएको उहाँको भनाई छ ।



पहिरोले सडक अवरुद्ध हुँदा रुकुम, सल्यान, रोल्पा भएर दाङ हुँदै जाने छोटो तथा लामो दुरीका यातायातका साधन बिच बाटोमै अलपत्र परेका थिए । कपुरकोटबाट सहायक सडक भएपनि वर्षातका कारण हिलो हुँदा धेरै सवारीका साधन राजमार्गमा रोकिन बाध्य भएका थिए ।
लाइभदाङ । ३१ जेष्ठ २०८२, शुक्रबार २१:३९ बजे