
तुलसीपुर, २५ जेठ ।
दाङको तुलसीपुरमा स्कुटीले साइकल यात्रुलाई ठक्कर दिँदा एक १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घाईते हुनेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–३ घर भएका कमानसिङ बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य राना जानकारी दिएका छन् । दुर्घटना शुक्रबार साँझ ४ः४५ बजे तुलसीपुर उपमहानगरपालिका–७, माटाकुटी नजिकै भएको थियो ।
श्रीगैबाट तुलसीपुरतर्फ जादै गरेको रा.७ प.२५९८ नम्बरको स्कुटीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका बालकलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ। हाल उनको अवस्था बेहोस रहेको बताइएको छ। घाइते बालकको उपचारमा आमा तिलसरी खत्री संलग्न रहेको अस्पताल स्रोतले जनाएको छ।



स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ निवासी ३६ वर्षीय रुपेस डि.सी.लाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। साथै दुर्घटनामा संलग्न स्कुटी र साइकल दुवैलाई ट्राफिक प्रहरी कार्यालय, तुलसीपुरको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक भीम बहादुर बस्नेतको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लाइभदाङ । २६ जेष्ठ २०८२, आईतवार १९:२४ बजे