भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २४ जेठ ।
भारतबाट नेपालको सुदूरपश्चिम फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरूको एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो। संक्रमितमध्ये तीन जना कैलालीका र दुई जना अछामका हुन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका ३० जनाको परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो। संक्रमित सबैलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ।


यसअघि दुई दिनअघि मात्र भारतबाट फर्केका ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यससँगै पछिल्ला तीन दिनमा गौरिफन्टा नाकाबाट फर्केका आठ जनामा संक्रमण देखिएको जोशीले जानकारी दिए।

संक्रमितको पुष्टि भएलगत्तै उनीहरूको नमूना थप परीक्षणका लागि काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ। आपतकालीन केन्द्रले सीमा क्षेत्रमा स्वास्थ्य डेस्क स्थापना गरी नियमित परीक्षण गर्दै आएको छ।