विदेश जानेलाई अब १५ सय डलरको मात्र सटही सुविधा

काठमाडौं  १४ पुस।

       विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र बैंकले बताएको छ ।

विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएको भन्दै गत असोजमा केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्दै २ हजार डलरमा झारेको थियो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब बाहेकका देशमा जानका लागि पासपोर्ट पेश गरेर १५ सय डलरसम्मको सटही सुविधा पाउनेछन् ।


यो सुविधा पनि एक वर्षमा दुई पटकमा नबढ्ने गरीमात्रै उपलब्ध हुने निर्देशनमा उल्लेख छ । विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् । अहिले विदेशी मुद्रा सञ्चिती निकै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ ।