
तुलसीपुर, १३ जेठ । २३ औं कृष्णसेन स्मृति दिवसको अवसरमा दाङका चारजना पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपाल दाङ, शाखाले स्थापना गरेको कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष उदय जीएम, लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट संगठनका कार्यालय सदस्य शान्तकुमार बुढा , प्रेस सेन्टर प्रतिभा पुरस्कारबाट संगठनका सदस्य तथा अग्रिम साप्ताहिक र लाइभदाङमा कार्यरत अन्जना विश्वकर्मालाई पुरस्कृत गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासघ दाङ शाखाले स्थापना गरेको कृष्णसेन इच्छुक पुरस्कारवाट महासघका सदस्य बिष्णु अधिकारी पुरस्कृत हुनुभएको छ । मंगलबार पत्रकार महासंघ दाङ र प्रेस सेन्टर दाङले संयुक्त कार्यक्रम गरि उक्त पुरस्कार वितरण गरिएको हो ।
त्यस अवसरमा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले गणतन्त्रलाई अहिलेको उत्कृष्ट विश्व दर्शनको रुपमा रहेको बताए । यसमा केही कमजोरी भएमा सच्चाएर अगाडी बढ्नु पर्ने समेत उनको भनाई थियो ।
उनले राजनीतिक नेतृत्वको कार्यशैलीमै कमजोरी हुँदा पनि ब्यबस्थाप्रति प्रश्न उठ्ने गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले इच्छुकलाई युद्धकालीन प्रेसमाथिका ज्यादतिहरूको छानबिन गरी दण्डहीनताको अन्त्य गरिनुपर्नेमा जोड दिए ।



लाइभदाङ । १४ जेष्ठ २०८२, मंगलवार २१:२२ बजे