१४ बर्षपछि ‘कमब्याक’ भएका गेहेन्द्रलाई लगाए कार्यकर्ताले ११ किलोको माला

दीपक बोहरा
दाङ १३ पुस ।
दाङ तुलसीपुर निवासी गेहेन्द्र गिरी नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएपछि उनी समर्थक काँग्रेसका नेता तथा कार्यकर्ता उत्साहित भएका छन् । १४ औं महाधिवेशनमा निर्वाचित भएर पहिलो पटक गृहजिल्ला आएका उनलाई भब्य स्वागत तथा सम्मान गरिएको छ । सम्मान स्वरुप उनलाई ११ किलोको मालाले कार्यकर्ताले सम्मान गरे ।

उनका समर्थकहरुमा निकै जोस, जाँगर थियो । काँग्रेस भित्रको ठूलो युद्ध जित्न सफल भएको उनका समर्थकहरु बताउछन् । किनकी दुईपटक पार्टीको दाङ जिल्ला सभापति र सांसद समेत रहेका उनी यस अघि १२ औं र १३ औं महाधिवेशनमा पराजित भएका थिए । १२ औं महाधिवेशनमा उनी वडाबाटै क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन्। त्यतिबेला गेहेन्द्रले हारेको भन्दा पनि पार्टी भित्रको शक्तिले हराएको उनी निकटले बताउने गर्छन्।

उनले १३ औँं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि जितेको भएपनि महाधिवेशन प्रतिनिधिमै हारेका थिए । दुई पटक जिल्ला सभापति भइसकेका गेहेन्द्रलाई महाधिवेशन प्रतिनिधि हुनकै लागि तुलसीपुर उपमहानगरपालिकाको पार्टीको सभापति बन्ने बाध्यता आइलागेको थियो ।

यी दुबै महाधिवेशनमा उनलाई केन्द्रीय सदस्यका रुपमा हेरिएको थियो । उनी जिल्लाका सिनियर नेता हुन् । तर, महाधिवेशन प्रतिनिधिमा हार्दा उनको केन्द्रीय सदस्य बन्ने चाहाना पूरा हुन सकेको थिएनन् । अहिले १४ औं महाधिवेशनमा आएर त्यो चाहाना पूरा भएको उनी निकट युवा नेता अरुण लहरेले बताए ।‘हाम्रो १४ बर्षको प्रयास छ हामीले १२ औँं महाधिवेशनमै केन्द्रीय सदस्य बनाउन चाहेका थियौ’ , उनले भने‘त्यो चाहाना अहिले पूरा भएको छ ।’ त्यसकै खुसीयालीमा आज उनलाई ११ किलोको मालाले स्वागत गरेको उनले बताए ।
स्व. खुमबहादुर खड्का निकट मानिने गिरीले खड्काको विरासत धान्ने बताए ।‘ हाम्रा नेता खुमबहादुर नरहेको अबस्थामा अब हामी कता जाने हो,बडा दुबिधापूर्ण थियो’, उनले भने‘ संयोगले तपाईहरुको माया मामताले म केन्द्रीय सदस्य बनेको छु, अबको उहाँको विरासत मैले धान्छु ।’
साथै उनले अबको केही समयमा आम चुनाब आएकाले यसमा बाम्पन्थीसंग नै काँग्रेसको प्रतिस्पर्धा रहेकाले काँग्रेसहरुले आन्तरिक चुनाबमा भएका कुरालाई बिर्सेर जुट्नु पर्ने बताए ।


को हुन् गिरी
२००८ सालमा जन्मिएका गिरी प्रजातन्त्र सेनानी तथा बाजे चित्र गिरीको प्रेरणाले राजनीतिमा लागेका थिए । सामान्य शिक्षा दाङमै लिएर भारतको बनारसबाट एसएलसी सम्मको अध्ययन पूरा गरेका उनी बनारसबाटै राजनीतिसँग नजिकिएका थिए । उनी २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए ।

तरुण सहयोग समितिको सदस्य भएका गिरीले ०२३ सालमा कांग्रेसको पार्टी सदस्यता प्राप्त गरेका हुन् । त्यसयता प्रशासनको तारो बनेका उनी ०२९ सालसम्म भारतमा निर्वासित जीवन बिताएर ०३० सालमा नेपाल फर्किएका थिए। २०३० सालदेखि २०३४ सालसम्म बन्दी जीवन बिताएका गेहेन्द्र पञ्चायत विरुद्ध बहुदलको पक्षमा आन्दोलन चर्किन थालेपछि रिहा भएका थिए ।

२०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका हुन् ।

दोस्रो संविधानसभा निर्वाचनमा समेत दाङ क्षेत्र नम्बर ५ बाट टिकटको दाबेदार रहेपनि भाइ दीपक गिरीलाई पार्टीले टिकट दिएको थियो। त्यसयता दाजुभाइबीच सुमधुर सम्बन्ध नरहेको कांग्रेस वृत्तमा चर्चा पनि हुने गर्दछ । गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार थिए । तर, उनी एमालेका घनश्याम पाण्डेसंग पराजित भएका थिए ।