
तुलसीपुर, ३१ बैशाख ।
तुलसीपुर– ७ स्थित प्रसेनीमा कटाई सिलाई र बेमौसमी तरकारी खेती तालिमको औपचारिक उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेश सांसद माननीय लोका विश्वकर्माको पहलमा, लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान, तुलसीपुर दाङको आयोजनामा मंगलबार देखि कटाई सिलाई र बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सुरु गरिएको छ।
कटाई सिलाई तालिममा २५ जना र बेमौसमी तरकारी खेती तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको छ। सहभागी सबैजसो दलित तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गरेका छन्।
कटाई सिलाई तालिम प्रसेनीमा र तरकारी खेतीसम्बन्धी तालिम बेत्रावती, बमनैमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ। तालिमको प्रशिक्षकको रूपमा तारा परियार र निराजन सुनार रहनु भएको छ। यस तालिमबाट सहभागी महिलाहरूको सीप विकास भई आत्मनिर्भर बन्ने अपेक्षा लिइएको छ।



लाइभदाङ । १ जेष्ठ २०८२, बुधबार ०८:२० बजे