
रोल्पा, २९ वैशाख । रोल्पामा विभिन्न व्यक्तिहरूलाई बीमाको नाममा ठगी गर्ने कार्यमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक बिजय चापागाईका अनुसार, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको उप–शाखा कार्यालय होलेरीमा अपरेसन सपोर्ट पदमा कार्यरत रहँदा १८ लाख बढी हिनामिना गरेको आरोपमा सल्यानको शारदा नगरपालिका–४ घर भइ घोराही–१५ बस्ने ३१ वर्षका गणेश पहाडी पक्राउ परेका हुन् ।
पहाडीले ५६ जना बिमित ग्राहकबाट १८ लाख ६७ हजार ७०१ रुपैँया हिनामिना गरेको आरोप छ । ग्राहकहरूसँग बीमा सम्बन्धी प्रक्रिया अघि बढाइदिने भन्दै रकम लिने तथा कम्पनिमा नबुझाउने गरेको तथ्य फेला पारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पहाडीलाई रोल्पा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो ।



लाइभदाङ । २९ बैशाख २०८२, सोमबार १२:०२ बजे