
दाङ, २४ वैशाख ।
दाङको राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ गरेको छ।
प्रहरीका अनुसार, वैशाख २३ गते साँझ करिब ५:५० बजे घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडी जाँच गरेको हो।
गाडीमा सवार ऐरावती गाउँपालिका–२, बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीको रीतपूर्वक खानतलासी गर्दा उनले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त महिला पक्राउ गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।



लाइभदाङ । २४ बैशाख २०८२, बुधबार ११:३१ बजे