डा. किशोर खत्रीको अभियानः स्वास्थ्य सचेतना कि राजनीति ?

तुलसीपुर, २४ बैशाख ।
कहिल्यै वाकाथुन त कहिल्यै जुम्बाडान्स गरेर चर्चा छन्, दाङ तुलसीपुर स्थित डा. किशोर खत्री । कुनै समय बालरोग विशेषज्ञका रुपमा चर्चित डा. खत्री अहिले भने वाकाथुन र जुम्बाडान्सले चर्चित छन् । यीनै अभियानले उनको बालरोग विशेषज्ञको पद नै ओझेलमा छ । उनी बालरोग मात्रै नभई स्वास्थ्यकालागि आवश्यक पर्ने वाकाथुन र जुम्बाडान्सले चर्चित हुँदै गर्दा कतिले राजनीतिमा आउने चर्चा गर्छन् ।

०८४ मा तुलसीपुरका मेयर लड्ने तयारी रहेको धेरैबाट चर्चा हुन्छ । केहीले भने प्रदेश वा संघ लड्ने तयारी छ की भन्ने छ । “यो अभियानले गर्दा उहाँ चुनाब लड्न तयारी हो जस्तो मलाई लाग्छ”, उनकै अभियानमा सहभागि एक ब्यक्तीले भने “पछिल्लो समय उहाँ धेरै सक्रिय हुनुहुन्छ ।” डा. खत्रीले दाङको तुलसीपुरमा महानायक राजेश हमाललाई समेत ल्याएर तुलसीपुरको अरनीको मैदानदेखि टरिगाउँ विमानस्थलसम्म वाकाथुन पनि गरे । हाल प्रत्येक दिन विहान–विहान तुलसीपुर–९ को दोघरेमा जुम्बाडान्स गराउँदै आएका छन् । जहाँ धेरै मान्छे सहभागी हुन्छन् । यस्ता गतिविधिले राजनीतिमा आउन लागेको कुरा सबैले चर्चा गर्ने गर्छन् ।

राजनीतिमा आउने चर्चासंग सुरु–सुरुमा अभियानमा जोडिएकाहरू पनि अहिले हिचकिचाउन थालेका छन् । खासगरि उनले चुनाब लड्ने कुराले यस क्षेत्रमा चुनाब लड्ने हैसियत राख्नेहरू उनको अभियानमा सहभागी हुँदा पनि सोँच्न बाध्य छन् । यद्यपी डा. खत्री आफैले भने राजनीतिमा आउनकालागि गतिविधि नगरेको कुरा प्रष्ट पारेका छन् ।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको कार्यक्रममा अहिले गरिरहेको गतिविधि स्वास्थ्यको सचेतना प्रदान गर्नकालागि नै गरिरहेको स्पस्ट पारेका छन् । “मैले पाकिस्तानबाट गोल्डमेडल ल्याएर आँछु, यदि म पोल्टिक्समा गएँ भने मेरो गुरुलाई के उत्तर दिने ? विरामीलाई कसले चेक गरिदिने ?”, उनले भने “यो स्वस्थ तुलसीपुर बनाउने अभियान हो, स्वस्थ दाङ बनाउने अभियान हो, स्वस्थ नेपाल बनाउने अभियान हो । हजुरहरु पनि जोडिनुहोस्, ढुक्क भएर ।” उनले राम्रो एजेण्डा बोकेका नेताहरुलाई सहयोग गर्न तयार रहेको तर, राजनीतिमा नआउने बताए ।


कहिल्यै उनलाई काँग्रेसबाट चुनाव लड्ने, कहिल्यै अन्य पार्टीमा गएर चुनाब लड्ने, त कसैले स्वतन्त्र वा स्वतन्त्र पार्टीमा गएर चुनाब लड्ने तयारी भएको भनि बहस हुने गरेको छ ।

डा. किशोर खत्री तुलसी अस्पतालका प्रमुख हुन् । जुन अस्पताल बालरोगकालागि उत्तम अस्पताल मानिन्छ । उनको पारिवारिक धरातल काँग्रेस निकट हो । उद्यपी उनको परिवार खुलेर काँग्रेसको राजनीति भने गर्दैन । अदृष्य रुपमा काँग्रेसलाई भने सहयोग गर्दै आएको छ ।

खत्री स्वयं पनि प्रजातान्त्रिक धारबाटै प्रतिनिधित्व गर्दै आएका छन् । उनी विस २०६९ देखि बालरोग विशेषज्ञका रुपमा कार्यरत छन् । तत्कालिन अवस्थामा राप्ती प्रादेशिक अस्पतालबाट उनले सेवा सुरु गरेका हुन् । उनी २०७९ सालमा सामाजिक सेवा पदकबाट विभुषित समेत भइसकेका छन् । साभारः अग्रिम साप्ताहिक