राप्ती–६ मा जैविक कृषि प्रवर्द्धनका लागि एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

तुलबहादुर कवँर मगर
मसुरीया, २१ वैशाख।
दाङको राप्ती गाउँपालिका–६ भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल, जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ। वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले विषादीको प्रयोग सकेसम्म नगर्न आग्रह गर्दै, आवश्यक परेमा जैविक विषादी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले गाउँपालिकाको नीति तथा कार्यक्रममा विषादी रहित अर्गानिक खेतीलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो।

त्यसैगरी, वडाध्यक्ष चौधरीले कृषक तथा खाद्य उत्पादनसँग सम्बन्धित सबै सरोकारवालाहरू बढी सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले क्यान्सर, मुटु, मृगौला जस्ता रोगहरूमा वृद्धि भईरहेको उल्लेख गर्दै यस्ता रोगहरूको एक प्रमुख कारण रासायनिक विषादी नै रहेको बताउनुभयो।


कार्यक्रममा वडा नं.६ का कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कृषि विकास शाखा प्रमुख बरसाती गडरिया, कृषि अधिकृत प्रदीप खत्री र कृषि प्राविधिक निर्मला पौडेलले प्राङ्गारिक मल र जैविक विषादी बनाउने तरिका, प्रयोग विधि तथा यसका लाभबारे प्राविधिक प्रशिक्षण र जानकारी गराउनुभएको थियो।

गाउँपालिकाले यसअघि पनि आफ्ना केही वडामा यस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ भने बाँकी रहेका वडामा समेत चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। गाउँपालिकाले सबै नौ वटै वडामा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।